२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


शिक्षक मृत्यु प्रकरणः ११ जना प्रहरीकाे नियन्त्रणमा


104
Shares

बैतडी । बैतडीको पाटन नगरपालिका-६ काे श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टकाे मृत्यु प्रकरणकाे अनुसन्धानका लागि ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

उनीहरूलाई नियन्त्रणमा लिएसँगै प्रहरीले अनुुसन्धानकाे प्रक्रिया अघि बढाएको हाे । नियन्त्रणमा लिइएकाहरू मध्ये शिक्षक, विद्यार्थी र केही स्थानीय रहेका छन् । मृत अवस्थामा फेला परेका विष्टको हत्या हो वा अन्य कुनै कारणले मृत्युु भएको हो भन्ने कारण खुलेको छैन । शिक्षक विष्टको हत्या भएको परिवारजनले आशंका गरेर अहिलेसम्म शव बुझ्न मानेका छैनन् । यसैबीच घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोली पनि पाटन पुगेको छ ।

प्रहरी निरीक्षकको नेतृत्वमा रहेको टोलीले घटनाको अनुसन्धान सुरु गरिसकेको बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । सीआइबीको टोलीले बैतडी प्रहरीसँग मिलेर घटनाको संयुक्त रूपमा सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको छ । गत शुक्रबार कृष्ण माविमा एक जना शिक्षकले आयोजना गरेको स्वागत भोजमा सरिक भएका शिक्षक विष्ट शनिबार छात्रवास पछाडि मृत अवस्थामा फेला परेका थिए ।

यता शिक्षक वष्टको हत्या भएको भन्दै दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आफन्त, शिक्षक र विद्यार्थीले जिल्लामा आन्दोलनका कार्यक्रमहरू समेत सुरू गरेका छन् ।