
टोक्यो, भदौ १० । जापानका प्रधानमन्त्री सिन्जो आबेले सत्तारुढ पार्टीको नेतृत्वको चुनावमा पुनः उम्मेदवार हुने घोषणा गरेका छन् ।
पार्टी नेतृत्वमा विजयी भएमा उनी जापानको इतिहासमा सबैभन्दा लामो अवधिसम्म प्रधानमन्त्रीको पदमा रहनेछन् ।
आबेले लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को प्रमुखमा सहजै पुनः विजयी हुने अपेक्षा गरिएको छ किनभने उनको समर्थनमा ठूलो संख्यामा सांसदहरु छन् । उनलाई पूर्व रक्षामन्त्री शिगेरु इशिबाले मात्र चुनौती दिएका छन् ।
‘मैले आगामी तीन वर्षका लागि एलडीपीको नेतृत्व गर्ने र प्रधानमन्त्री हुने निर्णय गरेको छु, र अर्को महिना हुने नेतृत्वको चुनावमा उठ्ने अठोट गरेको छु,’ आबेले टेलिभिजनमा समेत प्रत्यक्ष प्रसारण गरिएको पत्रकार सम्मेलनमा भने ।
सेप्टेम्बर २० को पार्टी चुनावमा विजयी भएमा आबे अर्को तीन वर्षसम्म प्रधानमन्त्रीमा रहनेछन् । उनको विपक्षमा कुनै विपक्षी राजनीतिक दल पनि विरोधमा उभिएका छैनन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्री आबेले जापानमा बढ्दै गएको बुढ्यौली जनसंख्याका बारेमा नीतिगत सुधार तथा बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिका बारेमा केन्द्रित हुने बताए ।
पार्टी प्रमुखमा उम्मेदवारी दिएका इशिबाले पनि जनसांख्यिक सरोकार र उत्तर कोरियाको आणविक कार्यक्रमबाट उत्पन्न क्षेत्रीय सुरक्षा खतराका विषयमा ध्यान दिने बताए । (रासस/एएफपी)
प्रतिक्रिया दिनुहोस्