३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


‘९० प्रतिशत दुर्घटना चालकको लापरवाहीबाट’


0
Shares

काठमाडौं, भदौ १० । काठमाडौं उपत्यकामा चालकको लापरवाहीका कारण बढी दुर्घटना हुने गरेको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका अनुसार कूल दुर्घटनाको ९० प्रतिशतभन्दा धेरै चालकको लापरवाहीले हुने गरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा भएको ६ हजार ३८१ दुर्घटनामध्ये चालकको लापरवाहीले मात्र पाँच हजार ९६१ दुर्घटना भएको छ । 

यस्तै तीव्र गतिका कारण ७१, मादक पदार्थ सेवनले २२१, यान्त्रिक गडबडी ४४, उछिन्दा (ओभरटेक) २९, पैदलयात्रुको लापरवाहीले तीन र सडकको अवस्थाका कारण ४८ दुर्घटना भएका छन् ।

दुर्घटनामा परी २१९ गम्भीर र चार हजार ३३३ सामान्य घाइते भएका छन् । महाशाखाका प्रमुख वसन्तकुमार पन्तले उपत्यकामा सवारी सङ्ख्या धेरै भएको र चालकले जथाभावी चलाउँदा धेरै दुर्घटना हुने गरेको जानकारी दिए ।

‘बाटो साँघुरो, तीव्र गति र जथाभावी चलाउँदा धेरै सडक दुर्घटना हुने गरेको छ,’ उनले भने ।

वाग्मती अञ्चलमा दर्ता भएका ११ लाख सवारी साधनमध्ये उपत्यकामा मात्र झण्डै आठ लाख सवारी साधन ओहोरदोहोर गर्छन् । आव २०७४÷७५ मा मात्र सवारी दुर्घटनाका कारण १९४ जनाको मृत्यु भएको थियो । दुर्घटना भएका सवारी साधनमध्ये दुईपाङ्ग्रे सवारी साधन धेरै छन् । आव २०७४÷७५ मा दुर्घटनामा मरेका १९४ मध्ये १४७ पुरुष र ४७ महिला छन् । कूल मृत्युमध्ये मोटरसाइकल र स्कुटर दुर्घटनामा मात्र १११ छन् । (रासस)