
काठमाडाैं । उर्जा उद्यमीद्वय गुरुप्रसाद न्यौपाने र ज्ञानेन्द्रलाल प्रधान धितोपत्र बोर्डको कारबाहीमा पर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले रिडी पावर कम्पनीका अध्यक्ष न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका तत्कालिन अध्यक्ष प्रधानलाई अवैध सेयर कारोबारमा कारवाही गर्ने भएको हो ।
उनीहरुले आफु पदमा भएका बखत गैरकानुनी रुपमा दोस्रो बजारमा सेयर खरिद बिक्रि गरेको पुष्टि भएपछि बोर्ड कारवाहीको निर्णयमा पुगेको हो । बोर्डले एक वर्ष अघिदेखि उनीहरुको सेयर कारोबार बारे अध्ययन गर्दै आएको थियो । यसैक्रममा बोर्डले उनीहरुले कानुनविपरित सेयर कारोबार गरेको ठहर गरिसकेको थियो ।
प्रधानले नेपाल हाइड्रोको अध्यक्ष रहंदा नै श्रीमती, छोरा र छोरीको नाममा रहेको ९५ हजार बढी कित्ता सेयर बेचेको पाइएको छ । यसैगरी, न्यौपानेले आफु अध्यक्ष रहंदा नै तत्कालिन रिडी डेभलपमेन्ट कम्पनीको २०७७ चैत १९ देखि २०७८ भदौ ४ गतेसम्म रिडी हाइड्रोपावरको २८ हजार बढी कित्ता सेयर बिक्री गरेको पाइएको थियो ।
धितोपत्र दर्ता निष्काशन नियमावली ३८ (१क) अनुसार कुनै पनि सुचिकृत कम्पनीको संचालक, कार्यकारी प्रमुखलगायतका पदाधिकारीहरुले पदमा रहँदा वा पदवाट हटेको १ वर्षसम्म आफ्नो वा आफ्नो परिवार र आफू संलग्न कम्पनीमार्फत् त्यस्तो कम्पनीको सेयर खरिदबिक्री गर्न नपाइने व्यवस्था गरेको छ ।
उनीहरुको कसुर ठहरिने भएपछि यी मुद्दाको थप अनुसन्धान गर्न बोर्डले अनुसन्धान अधिकृत नियुक्त गरिसकेको छ । नेपाल हाइड्रो डेभलपर्सको थप अनुसन्धानका लागि कामु कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठलाई जिम्मेदारी दिइएको छ ।
यसैगरी, रिडी पावर डेभलपमेन्टको अनुसन्धानका लागि कार्यकारी निर्देशक नवराज अधिकारीलाई बोर्डले जिम्मेवारी दिएको छ । अधिकारीहरुले आगामी ४५ दिनभित्रमा अनुसन्धान प्रतिवेदन बोर्डलाई दिनुपर्नेछ । उक्त प्रतिवेदन पुनः सञ्चालक समितिमा पेस गरेसंगै दण्ड सजाय तोकिने बोर्डका अधिकारीले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्