३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


तत्कालिन राष्ट्रपति केनेडी हत्या: हत्या प्रकरणका हजारौं फाइल सार्वजनिक


26
Shares

काठमाडौं । तत्कालिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको हत्या सम्बन्धि अनुसन्धान फाइलहरु सार्वजनिक गरिएको छ।

ह्वाइट हाउसको आदेशमा १३ हजार १ सय ७३ वटा फाइलहरु सार्वजनिक गरिएको हो । तत्कालिन अमेरिकी राष्ट्रपति केनेडीको सन् १९६३ को नोभेम्बर २२ मा गोली हानी हत्या गरिएको थियो । विश्वका रहस्यमय घटनाहरु मध्येको उक्त घटना भएको करिब ६० वर्षपछि अमेरिकी सरकारले अनुसन्धानका थप रिपोर्टहरु सार्वजनिक गर्ने निर्णय गरेको हो ।

यसअघि १६ हजार फाइल सार्वजनिक भईसकेकाले अब तीन प्रतिशत रिपोर्ट मात्रै गोप्य राखेको ह्वाइट हाउसको भनाइ छ । राष्ट्रपति जो बाइडेनले बिहिबार फाइल सार्वजनिक गर्न आदेश दिनुभएको हो । तर केही फाइलहरु भने विशेष कारणले अर्को वर्षसम्म गोप्य राखिने पनि उहाँले बताउनु भएको छ । तर सार्वजनिक गरिएका रिपोर्टहरुबाट खाशै नयाँ कुरा जानकारीमा नआउने बताइएको छ ।

अमेरिकी राष्ट्रिय अभिलेखालयले ५ सय १५ वटा फाइल पूर्ण रुपमा गोप्य राखिने र २ हजार ५ सय ४५ वटा फाइल आंशिक रुपमा गोप्य राखिने जनाएको छ । सन् १९६४ मा वारेन आयोगले पहिले सोभियत युनियनमा बसेका अमेरिकी नागरिक ली हार्वे ओस्लाल्डले केनेडीको एक्लै हत्या गरेको रिपोर्ट दिएको थियो । हत्या लगत्तै पक्राउ परेका ओस्वाण्डको केनेडी हत्याको दुई दिनपछि डालास प्रहरी हेडक्वार्टरको बेसमेन्टमा हत्या भएको थियो ।

अहिले सार्वजनिक गरिएका रिपोर्टहरुबाट मेक्सिको सिटीमा ओस्वाल्डका गतिविधि र उनले त्यहाँ रुसी गुप्तचर एजेन्सी केजीबीसँग गरको भेटको विषयमा थप खुलासा हुनसक्ने अपेक्षा गरिएको छ । तर सीआइएले भने उक्त विषय पनि सार्वजनिक भईसकेकाले खाशै नयाँ कुराको अपेक्षा नगर्न भनेको छ । अर्को अनुसन्धान संस्था म्यारी फेरल फाउण्डेसनले भने ओस्वाल्डको केजीबीसँगको सम्बन्धबारे सीआइएले राष्ट्रिय अभिलेखालयमा अहिलेसम्म रिपोर्ट नबुझाएको दावी गरेको छ ।