कञ्चनपुर । निर्मला पन्तको बलात्कार र हत्यापछि चर्किएको विरोध नियन्त्रण गर्न कञ्चनपुरको महेन्द्रनगरमा स्थानीय प्रशासनले लगाएको कर्फ्यु आदेश पाँच घन्टाका लागि हटाइएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लगाएको कफ्र्यू जनै पूर्णिमालाई लक्षित गरी पाँच घण्टाका लागि हटाइएको हो ।
प्रशासनले जारी गरेको सूचनामा भीमदत्त नगरपालिका ४, ६ र १८ नम्बरमा लगाइएको कर्फ्यु आदेश बिहान ५ बजेबाट १० बजेसम्मका लागि हटाइएको उल्लेख गरिएको छ ।
५ घण्टाका लागि कफ्र्यू आदेश हटाइएपनि त्यसपछि भने अर्को आदेश नभएसम्मका लागि कफ्र्यू निरन्तर हुने सूचनामा उल्लेख छ ।
शनिबार भएको सर्वपक्षीय बैठकले जनैपूर्णिमाका लागि कफ्र्यू हटाउन सुझाव दिएकाले सुरक्षा समितिको बैठकले पाँच घण्टाका लागि कर्फ्यु हटाउने निर्णय गरेको हो ।
प्रदर्शनका क्रममा हिंसा भड्किएपछि शान्ति सुरक्षालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले शुक्रबार बेलुका ८ बजेबाट अर्को आदेश नभएसम्मका लागि भन्दै कफ्र्यू आदेश जारी गरेको थियो ।
शनिबार दिनभर सुनसान देखिएको भीमदत्तनगरमा कफ्र्यू आदेश हटेसँगै चलहपहल बढेको छ ।





प्रतिक्रिया दिनुहोस्