२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


काभ्रेकाे महाभारतमा ८ पशुचौपाया मरे, ९ जनालाई कुकुरले टोक्यो


182
Shares

काभ्रे । काभ्रेको विकट क्षेत्र महाभारत गाउँपालिकामा रेबिज संक्रमणको त्रास बढेको छ ।

साेही गाउँपालिका-१ को गोकुले र ८ को घर्तीछापमा गरी ३ सातामा ८ वटा पशुचौपाया मरेका हुन् । गाउँपालिका-१ को गोकुलेमा मात्रै गाई, बंगुर र खसी गरी ६ वटा पशुचाैपाया मरेका छन् । साथै ९ जना मानिसलाई कुकुरले टोकेको महाभारत गाउँपालिकाका वडा अध्यक्ष कान्छामान जिम्बाले बताउनुभयो ।

यहि मंसिर १३ गते गोकुलेकी थिरमायाँ श्रेष्ठले पाल्नुभएको गाई मरेको थियो । रेबिजको आशंकामा परीक्षण गर्दा उक्त गाईमा रेबिज पुष्टि भएकाे थियो । गाई मर्नु भन्दा केही दिनअघि गाईको काँचो दूध पञ्चामृतका लागि प्रयोग गरिएकाले पनि स्थानीय झनै त्रसित बनेका छन् । यता, जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर पुरुषोत्तम सेढाइले रेबिज संक्रमणको खबर थाहा पाउने बित्तिकै रेबिज विरुद्धको खोप अभियान संचालन गरिरहेको बताउनुभयो ।

मानिसमा रेबिजको लक्षण देखियो भने सतप्रतिशत मृत्यु हुने भएकाले सत्य नलुकाउन उहाँले आग्रह समेत गर्नुभयाे । यसअघि काभ्रेको भुम्लु गाउँपालिकामा रेबिजका कारण ५० भन्दा बढी पशुचौपाया मरेका थिए । खुल्ला गोठ, छाडा कुकुर र जंगली जनावरका कारण रेबिज फैलिएको आशंका गरिएको छ ।

कुनै पशु बिरामी भएपछि काटेर खाने गरिएकाले पनि जोखिम बढेको सरोकारवालाहरूले बताएका छन् ।