काठमाडौं । निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई दबाब दिन आज काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ ।
विरोध प्रदर्शन माइतीघर बाट सुरु भइ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
विरोध प्रदर्शनमा सहभागिहरुले ‘चुप लागेर बस्दैनां न्याय मर्न दिदैनौ’, ‘सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारी’, बाँच्न गाह्रो भो जनतालाई, निर्मलाको निम्ति न्याय जस्ता प्ले कार्ड लिएर प्रदर्शन गरेका थिए ।
कार्यक्रममा शंख बजाइएर बलात्कारविरुद्ध सांकेतिक नाटक पनि देखाइएको थियो ।
नागरिक अगुवा, सामाजिक अभियन्ता, महिला अधिकारवादी लगायत सर्वसाधरणहरुले प्रदर्शन गरेका थिए ।
त्यस्तै, पन्तको हत्याको विरोधमा बझाङका महिलाहरुले पनि प्रदर्शन गरेका छन् ।
सदरमुकाम चैनपुरमा नारा जुलुससहित महिला अधिकारकर्मीहरुले निर्मला हत्या प्रकरणका दोषीलाई पत्ता लगाइ फाँसीको सजाय दिनु पर्ने माग गरेका छन् ।
महिला अधिकारकर्मीले हत्यारा पत्ता लागई फाँसी दिनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।
उता, डडेल्धुरामा पनि निर्मलाको घटनामा प्रहरी अनुसन्धान फितलो भएको भन्दै प्रदर्शन गरियो वास्तविक अपराधीलाई प्रहरीले संरक्षण गरेको र आन्दोलनकारीलाई गोली हानेर मारेको भन्दै उनीरुले विरोध प्रदर्शन गरेका हुन् ।
आन्दोलनमा नागरिक समाजका अगुवा, स्थानीय समाजसेवी, उद्योगी व्यवसायी लगायतको सहभागिता थियो ।





प्रतिक्रिया दिनुहोस्