२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


प्रत्यक्ष तर्फकाे मतगणना सम्पन्न, कांग्रेस पहिलो र एमाले दोस्रो दल


481
Shares

काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको सबै मत परिणाम आएको छ ।

दोलखाको मत परिणाम आएसँगै प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाका ३ सय ३० वटै क्षेत्रको नतिजा सार्वजनिक भएको हो । अन्तिममा नतिजा सार्वजनिक भएको दोलखमा नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित हुनु भएको छ । कडा प्रतिस्पर्धाबीच कार्कीले नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्नुभएको हो ।

कार्कीले ३६ हजार ७ सय ९९ मत प्राप्त गर्दा शिवाकोटीले ३६ हजार ४ सय ८२ मत प्राप्त गर्नुभएको छ । दोलखा प्रदेशसभा–१ मा सत्ता गठबन्धनबाट कांग्रेसका कुन्दनराज काफ्ले विजय हुनुभएको छ । प्रदेश सभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित हुनुभएको छ । प्रतिनिधि सभातर्फ ५७ सिट जितेर कांग्रेस पहिलो दल बनेको छ भने एमाले ४४ सिट जित्दै दोस्रो दल बनेको छ। यसैगरी नेकपा माओवादी केन्द्रले १८ सिट जितेको छ भने नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपा ७, जसपा ७, लोसपा ४, नागरिक उन्मुक्ति पार्टी १, जनमोर्चा १, नेमकिपा १, जनमत १ र स्वतन्त्र ५ जना सांसद निर्वाचित भएका छन् । प्रत्यक्षतर्फबाट संसदमा १२ दलको प्रतिनिधित्व हुनेभए पनि थ्रेसहोल्डका कारण ७ दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने देखिएको छ ।