
काठमाडौं, असार ३ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग संचालन गरेकै दिन आवश्यक विद्युत दिने स्पष्ट पारेका छन् ।
उद्योग मन्त्रालय, नेपाल आर्थिक पत्रकार समाज (सेजन) र विशेष आर्थिक क्षेत्र प्राधिकरणले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले हालसम्म एक किलोवाट विद्युतको माग समेत नआएको बताए ।
उद्योगी व्यवसायीले सेजमा आवश्यक विद्युत आपूर्ति हुन नसकेको बताइरहेका बेला उनले अब विद्युतका कारण सेजमा उद्योग संचालन गर्न नपाएको भन्ने गुनासो नआउने प्रष्ट पारे ।
कार्यत्र mममा सेजमा उद्योग संचालनका लागि आवेदन दिएका उद्योगीले भाडा घटाउन माग गरेका छन् । सेजमा स्थापना हुने कम्पनीका लागि ६० प्रतिशत निर्यात र ४० प्रतिशत स्थानीयस्तरमा नै वस्तु विक्री गर्न पाउने व्यवस्था गरिनुपर्नेमा माग पनि उनीहरुले अघि सारेका छन् ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं अर्थविद् डा. शंकर शर्माले भने सेजमा स्थापित उद्योगलाई ७५ प्रतिशत निर्यात र २५ प्रतिशत स्थानीय बजारमा विक्री गर्ने हालको व्यवस्था नै सही रहेको बताए । उनले विशेष आर्थिक क्षेत्र प्राधिकरणसहित सम्बन्धित निकाय र सेजमा उद्योग स्थापना गर्न चाहेका उद्योगीबीच ठुला विषयमा विमति नरहेको भन्दै सामान्य विषयलाई मिलाउन आग्रह गरे ।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले सेजमा उद्योग स्थापना गर्ने उद्योगीसँग सरकारले प्रतिस्क्वायर फिट ५ रुपैयाँका दरले मात्र भाडा लिनुपर्ने बताए ।
हाल सरकारले २० रुपैयाँ प्रतिस्क्वायर फिट भाडा लिने जनाएको छ । यसअघि प्रतिस्क्वायर फिट १ सय ५० रुपैयाँ भाडा लिने व्यवस्था गरिएको थियो ।
सेजबाट सरकारले उद्योगको प्रवर्द्धन गर्नुपर्ने भन्दै भाडा दर घटाउन शर्माले माग गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीप कुमार श्रेष्ठले सेजमा उद्योग स्थापनासहित आर्थिक समृद्धिका लागि निजी क्षेत्रलाई विश्वासमा लिनुपर्ने बताए ।
विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले कार्यपत्र प्रस्तुत गर्दै विगतका कमी कमजोरी सुधार गरी लगानीमैत्री वातावरण बनाउन सेजको आवश्यकता परेको भन्दै सोहीका लागि सरकारले पनि वातावरण बनाएको बताए ।
प्रतिक्रिया दिनुहोस्