Logo ३ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025


ग्रेडरले कुल्चिएर बालिकाको मृत्यु हुँदा धनगढी तनावग्रस्त


169
Shares

धनगढी । धनगढी ५ हसनपुरमा ग्रेडरले कुल्चिँदा एक बालिकाको मृत्यु भएपछि धनगढी बजार तनावग्रस्त बनेको छ ।

धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर–पिपल चौतारा सडकखण्डमा बिहीवार बिहान १०ः २० बजे कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिएर कुल्चिँदा १५ वर्षीया चेतना साउदको मृत्यु भएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा ८ कक्षामा अध्ययनरत बालिका साउदको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो ।

बालिका साइकलमा विद्यालय जाँदै गर्दा सडकको लेवल मिलाउँदै गरेको अवस्थामा ब्याक गर्ने क्रममा ग्रेडरले ठक्कर दिएको थियो ।

ग्रेडर चालक चितवन भरतपुर महानगरपालिका २८ का २७ वर्षीय विमल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक साउद पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यानरत थिइन् ।

अहिले उनको शव घटनास्थममा नै रहेको छ भने स्थानीयहरुले सडकमा विरोध गरिरहेका छन् । घटनास्थलमा आफन्त र स्थानीयहरुले विरोध गर्दा सवारी आगामन ठप्प बनेको छ । घटना स्थलमा अहिले प्रहरीको टोली परिचालन गरिएको छ ।