१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


ट्रम्पको निर्देशनपछि अमेरिकी विदेशमन्त्रीको उत्तर कोरिया भ्रमण रद्द


0
Shares

वासिंटन, भदौ ९ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले उत्तर कोरियाको भ्रमण रद्द गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा विदेशमन्त्री पोम्पियोले भ्रमण रद्द गरेका हुन् । राष्ट्रपति ट्रम्पले विदेशमन्त्री पोम्यिोलाई कोरियाली प्रायद्वीपमा परमाणु हतियार नष्ट गर्ने कार्यमा पर्याप्त प्रगति नभएको भन्दै उत्तर कोरियाको प्रस्तावित भ्रमण रोक्न निर्देशन दिएका हुन् ।

विदेशमन्त्री पोम्पियो र अमेरिकी विशेष दूत स्टिफन बिगन आगामी हप्ता उत्तरकोरिया जाने कार्यक्रम थियो । राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै चीन र अमेरिकाबीचमा व्यापारका विषयमा उत्पन्न तनावका कारण पनि उत्तर कोरियामाथि पर्याप्त दबाब बनाउन नसकिएको उल्लेख गरेका छन् ।

गत जुनमा उत्तर कोरियाली नेता किम जोङ उनसँग भएको शिखर वार्तापछि भने राष्ट्रपति ट्रम्पले उत्तर कोरियाबाट कुनै पनि परमाणु जोखिम नभएको बताएका थिए । तर त्यसपछि पनि उत्तर कोरियाले आफ्ना परमाणु कार्यक्रम बन्द नगरेको विवरणहरु सार्वजनिक भएका थिए ।

हालैमात्र एक अमेरिकी अधिकारीले वासिङ्टन पोस्टलाई उत्तर कोरियाले नयाँ अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र बनाइराखेको बताएका थिए । संयुक्त राष्ट्रसंघको परमाणु एजेन्सीले पनि उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम नरोकेको बताएको छ । (एजेन्सी)