नयाँ शक्तिहरूको उदयले स्थायित्वमा चुनौती ! « Imagekhabar – Online News Portal of Nepal
१६ माघ २०७९, सोमबार | Mon Jan 30 2023


नयाँ शक्तिहरूको उदयले स्थायित्वमा चुनौती !


208
Shares

नेकपा एमालेका महासचिव शङ्कर पोखरेल माओवादीकी रेखा शर्माबाट दाङमा चुनाव हारेपछि चकित छन् । चुनावी हारको प्रहारले रन्थनिएका पोखरेलले एक अन्तर्वार्तामा भनेछन् –‘नयाँ शक्तिहरूको उदयले स्थायित्वमा चुनौती थपियो ।’

झट्ट सुन्दा यो भनाइले लोकतन्त्र र परिवर्तनको स्थायित्वको चिन्ता गरेजस्तो देखिन्छ तर यसको चुरोमा गएर विश्लेषण गर्ने हो भने यो अत्यन्त कमजोर भनाई लाग्दछ । नेकपा एमालेको जिम्मेवार नेता पोखरेलले भनेको यो विचारले नयाँ पार्टी, व्यक्ति र सोचलाई पुरानाहरूले हटक गरेजस्तो देखिएको छ । के त्यो सम्भव छ त ?

अवश्य छैन किनकि नयाँ फूलहरूलाई फुल्न र नयाँ विचारहरूलाई खुल्न दिनुपर्छ । एमालेले उहिले पञ्चायती व्यवस्थाको विरुद्धमा संघर्ष गर्दै आफ्नो संगठन गर्दा उसका कार्यकर्ताहरूलाई गाउँगाउँ पठाएर भुटेका मकै र गुन्द्रुकका भरमा यही विचारको पक्षपोषण गर्दथ्यो । त्यो समयमा हरेक नेता र कार्यकर्ताहरू आदर्शमा विश्वास राख्थे ।

समय बित्यो । राजनीति उल्टियो । पञ्चायत एकादेशको कथा बन्यो । उहिले पञ्चायतसँग बगावत गर्ने काँग्रेस र कम्युनिष्टहरू अहिले सत्ताको राजनीति गर्ने भए । उनीहरू पद र सुविधाभन्दा टाढा केही सोच्न नसक्ने स्थितिमा छन् । यही स्थितिमा चुनावमा समेत उनीहरूले जनताका भावना र मागलाई सम्बोधन गर्न नसकेका कारणले नै योपटक धेरै नाम चलेका नेताहरूको सर्मनाक हार भएको छ ।

यो मानेमा सबैभन्दा धेरै घाटा एमालेलाई भयो । उसका दोस्रो पुस्ताका धेरै नेताहरू हारे । संविधान बनाउँदा घन्टी, माछा र करुवा केही थिएनन् । सूर्य, रूख र गोलाकारभित्र हँसिया हथौडाहरूमात्र थिए । संविधान बनाउँदा जुन निर्वाचन प्रणाली अपनाइयो, त्यति बेलै थाहा हुनुपर्ने कुरो अहिले थाहा भयो कि ? त्यसैले अहिले एमालेका नेताहरूको गुनासोले कुनै काम गर्दैन ।
हिजो नेकपाका नाममा जनताले दिनसम्म मत दिएका हुन् । लगभग दुई तिहाइको हाराहारी भोट पाएका नेपालका दुई ठूला वामपन्थीहरूले जनताको मतलाई कदर गरेर पाँच वर्षसम्म शासन गर्न सकेनन् । ओली र प्रचण्डमा अढाइ वर्ष सत्ता साझेदारी गर्ने भन्ने भद्र सहमति थियो त्यसको परिपालना हुन सकेन । एउटा जेटमा रहेका दुईदुई पाइलटहरूका बीच आपसमै मारामार भयो । फलतः प्रचण्ड र ओली फुटे । दुई नेता नदीका दुई किनारजस्तै भए ।

कोरोना कालमा ओलीको शासनमा जनतालाई धमास धेर भयो । अझ त्यो कालका स्वास्थ्य मन्त्रीहरू सबै यति बद्नाम भएकी पाँच वर्ष यताका ६ जना कोरोना कालका स्वास्थ्य मन्त्रीहरू अहिलेको चुनावमा सर्वनाम हार व्यहोर्न पुगे । एमालेका भानुभक्त ढकाल, वामपन्थी भन्न रूचाउने हृदयेश त्रिपाठी, नेपाली काँग्रेसका उमेश श्रेष्ठ, गठबन्धन सरकारका विरोध खतिवडा र एमालेकै नेता शेरबहादुर तामाङ र जसपाका नेता उपेन्द्र यादव सबैको हार भएको छ ।

पुराना राजनीतिज्ञ देवेन्द्रराज पाण्डेले सन्तनेता कृष्णप्रसाद भट्टराईको भनाइ साभार गर्दै भनेछन् –‘देशभक्ति दण्डित हुने भीम मल्ल र भीमसेन थापाका कथा र व्यथाहरूको अभिशप्त इतिहासबाट हामी नेपालीले कहिले छुट्कारा पाउने हो ? के प्रजातन्त्रको लडाइँको तात्पर्य कुटिल राजनीतिका खेलहरूको विसर्जन र पारदर्शिताको प्रदर्शन हैन !’ यस्ता आदर्शवादी नेताहरू उहिले प्रजातन्त्र र लोकतन्त्र ल्याउने बेलामा देशमा थिए तर अहिले क्रियाशील कुनै राजनीतिक पार्टीभित्र देखिँदैनन् । भएका एकएक मरेर सकिँदैछन् । केही महिनाअघि नेपाली काँग्रेसका विचारक नेता प्रदीप गिरी महाप्रस्थान भए । यतिखेर सबै राजनीतिक दलहरू कि गुट उपगुटमा विभाजन छन् कि गठबन्धनका नाममा आदर्शहरू कैद गरिएका छन् । एउटा पार्टीको कार्यकर्ताले अर्को पार्टीको मत चिन्हमा मन लागी नलागी भोट खसाउनु पर्ने यो चुनावमा हारेका क्षेत्रमा गठबन्धनका सहयात्री पार्टीले काखमा राखेर गला सेरेको कुन्ठा पोख्न भ्याइसकेका छन् ।

पुराना पार्टीहरूका नेता र पार्टीले बाटो बिराउँदा बाँकी कार्यकर्ताको भविष्य मात्र अन्धकार हुँदैन सो पार्टीमा आस्था राख्ने मतदाताहरूको समेत विजोग हुन्छ । यही कुरालाई पुष्टि गर्दै राजनीतिक विश्लेषक डम्बर खतिवडा भन्छन् –‘नियमित नेतृत्व पुस्तान्तरण र हस्तान्तरणको महत्व बुझ्न राजेन्द्र लिङ्देनको उदयपछिका राप्रपाको प्रगति हेरे पुग्छ । काँग्रेसले देउवा र कम्युनिष्टहरूले ओली, दाहाल, नेपालको साटो कुनै युवा नेता अघि सारेर चुनाव लड्या भए कस्तो परिणाम आउँथ्यो होला ? सायद् रविको उदय पनि हुने थिएन । डा. बाबुराम भट्टराईलाई छोड्नुअघि मैले यही प्रस्ताव राख्याथेँ । अलिक चर्को स्वरमै भन्याथेँ –नाथे २ सिटका लागि हामीले ७ वर्ष लगाएर बनाएको पार्टी सिध्याई दिने ? उनले रोजेको बाटोबाट परिणाम के आयो ? सबैका आँखा सामु छ ।’

नेपालमा २०७४ सालदेखि नै वैकल्पिक राजनीतिको चर्चा चलेको हो । उनै डा.बाबुराम भट्टराईले माओवादीबाट आफू निक्लिएपछि नयाँ शक्ति पार्टी खोले, उता युवा उज्ज्वल थापाहरूले विवेकशील नेपाली पार्टीको स्थापना गरेर चुनावै लडे । पछि सो पार्टीमा बीबीसीको हाइफाइयुक्त जागिर छोडेर पत्रकार रवीन्द्र मिश्रको ठाँटबाँटसाथ प्रवेश भयो । कोरोना महामारीमा उज्ज्वल थापा काल कलवित भए । विवेकशील साझाका धेरैजसो नेता र कार्यकर्ताहरू युवा थिए । तिनीहरूका बीच नीति, कार्यक्रम र कार्यदिशाका सम्बन्धमा झगडा भयो । फलतः पार्टी छिन्नभिन्न भयो । को कता को कता पुगे । यसपटक सोही अवस्थामा रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेर चुनावमा गए । दर्ता भएको केही महिना भएकै छैन उनको पार्टीले प्रत्यक्षमा ७ सिट जित्यो । समानुपातिक मत साढे दस लाख कटाइसकेको छ ।

स्थिति यसरी दिन दुगुना रात चौगुना युवाहरूका पक्षमा बद्लिरहेको अवस्थामा केही पुरानीयाँ नेता र तिनका कार्यकर्ताहरू चाहिँ नयाँ पार्टी र व्यक्तिका विचारमा पुनः पाँडेगाली शैलीमा झरेका छन् । तिनीहरू नयाँ पुस्ता र नयाँ पार्टीसँग यसैगरी खनिइरहे भने भोलि खुल्ने लोकतान्त्रिक पार्टीहरूले समेत पुराना पार्टीका नेता र कार्यकर्ताहरूलाई सर्वसत्तावादी नेताको ट्याग भिराउन बेर लाउँदैनन् । नजन्मिएका विचारलाई जन्मन दिनुपर्ने र नफुलेका फूलहरूलाई फुल्न दिनुपर्ने प्रकृतिको नियमचक्र हो । यसलाई कुनै सांसारिक तत्वले रोकेर रोक्न सक्दैनन् । रोक्नु भनेको प्रकृतिको विरुद्ध जानु हो, जुन सम्भव छैन ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावअघि समाजवादीलाई खरानीको डल्लो र प्युसो उपनामले हियाउने काम गरेका थिए । सो तथ्यमा मतदाताको उदारमनाले पानी फ्याँक्ने काम भयो ।

कवि भोजराज न्यौपाने सटिक भाषामा सो चित्रण गर्दै भन्छन् –‘यति बेला ओली सरलाई जति आनन्द कसलाई होला र ? प्रतिस्पर्धामा आउने कमरेडहरू चुनाव हारे । जोरी खोज्ने कतिले टिकटै पाएनन्, कतिले पार्टी छाडे । बचेका केही हारे । आफ्नो कोटरीका केही ‘तित्रा कमरेड’ले जिते । विगतमा प्रधानमन्त्री हुँदा गलत भयो भन्नेहरूमा अब त्यही ‘केटो कमरेड’ मात्र त हो । ल त अब कोही बोलुन ? ठाउँका ठाउँ ठिक लाउने ‘करोडपति’ जितेकै छन् । अब बहुदलीय जनवादको व्याख्याता आफैँ, पार्टी प्रमुख आफैँ । एमालेभित्र ओलीपथीय एकतन्त्रीय शासनको अभ्यासका लागि मार्ग खुल्यो । जसले ‘बा’ भनेर ढोग्यो ऊ सफल बन्यो, जो ढोग्दैन ऊ आउट भयो । आगे मर्जी कमरेडहरूको !’ यसरी पार्टीलाई प्राइभेट लिमिटेड बनाउनेहरूका विपक्षमा नयाँ पार्टी र व्यक्तिहरू उदाए त के बिराए ? भोट काट्ने सबालमा एमालेभन्दा धेर भोट काँग्रेसका कटेका छन् । काँग्रेस यति हुँदा पनि रोइलो गरेर हिँडेको छैन ।

अहिलेको चुनावमा रविले सबका कानमा घन्टी बजाए । आउने चुनावमा उनका कानमा समेत अरूले घन्टी बजाउन सक्छन् । समयको आरनमा खारिएर कति खरो उत्रन सक्छन् त्यो भविष्यको गर्भमा छ । आसाभन्दा धेर मत पाएँ भन्दैमा रवि मात्तिए भने यो परिणाम उनैका लागि प्रत्युपादक हुन सक्छ । त्यसैले आगामी पाँच वर्ष रविले फुकिफुकी पाइला चाल्नु पर्ने छ । यति चहिँ अहिले नै भन्न सकिन्छ ।

‘संसदीय व्यवस्था अपनाएपछि सरकार परिवर्तनलाई अस्थिरता भन्नु पनि वाइयात् हो । संसदमा बहुमत गुमेको सरकार टिकिरहनु पर्ने त ? कथित स्थितरताका लागि मन परेको ठाउँमा भोट नहाल्ने ? कुन दुई तिहाई वा बहुमतले सरकारको स्थिरता भएको अहिलेसम्म ? कि प्रणाली फेरौं कि यो स्थिरता भन्ने गनगन कसैले नगरौं ।’

नयाँ शक्तिको उदयले स्थायित्वमा चुनौती भनेर चुनावी परिणामलाई विश्लेषण गर्ने एमाले नेता शंकर पोखरेललाई जवाफ दिँदै विश्लेषक डम्बर खतिवडा भन्छन् । संसारमा कसैले कसैलाई स्पेस दिइरहनु पर्दैन पछि आउनेले आफ्नै बुद्धि र सीपले स्पेस बनाउँछ । यो संसारकै रित हो । आगे नेताहरूले संसारको इतिहास खारून् ।