१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


जिम्बावेको राष्ट्रपतीय निर्वाचनमा धाँधली नभएको अदालतको ठहर


0
Shares

हरारे, भदौ ९ । जिम्बावेको उच्च अदालतले प्रतिपक्षीद्वारा राष्ट्रपतीय निर्वाचन परिणामलाई लिएर दायर मुद्दाको विपक्षमा फैसला सुनाएको छ । 

शुक्रबार सुनाइएको फैसलामा निर्वाचनमा भएको धाँधली सम्वन्धी अध्ययनमा अदालतको अन्तिम निश्कर्ष निवेदकले लगाएका आरोपलाई पुष्टि गर्ने खालको नभएको पाइएको उल्लेख छ ।

प्रधानन्यायाधीश लुक मालालाले आफ्नो आदेशमा हरारेस्थित संवैधानिक अदालतमा भनेका छन्, ‘निर्वाचनमा भएको धाँधलीसम्वन्धी अध्ययनमा अदालतको अन्तिम निश्कर्ष निवेदकले लगाएका आरोपलाई पुष्टि गर्ने प्रत्यक्ष, प्रशस्त र विश्वसनीय आधार नभेटिएको ठहर गरेको छ ।’ 

गत जुलाई ३० मा भएको राष्ट्रपतीय निर्वाचनमा इमर्सन दाम्बुड्जो नानगाग्वा निर्वाचित भएको अदातलले शुक्रबार ठहर गरेको छ । 

विश्लेषकहरूले अदालतको फैसला विपक्षीको पोल्टामा जाने अनुमान गरिरहेका बेला अदालतको यस्तो निर्णय आएको हो । 

यसैबीच जिम्बावेका नवनिर्वाचित राष्ट्रपति नानगाग्वाले शुक्रबार अदालतको फैसलाको स्वागत गरेका छन् ।

उनले भने, ‘म फेरि एक पटक शान्ति र एकताका लागि सबैमा आह्वान गर्दछु ।’ अब सँगै अघि बढ्ने समय आएको उनको भनाइ छ । 

निर्वाचन परिणामलाई लिएर विपक्षीले अदालतमा मुद्दा दायर गरेपछि जिम्बावेको निर्वाचन विवादमा परेको थियो । अदालतको फैसलासँगै विवादको किनारा लागेको छ । (रासस/एएफपी)