Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


रुकुम पश्चिममा अर्थमन्त्री शर्मासहित सबै माओवादी उम्मेदवार विजयी


195
Shares

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट संयुक्त उम्मेदवार रहनुभएका नेकपा (माओवादी केन्द्र) का नेता शर्माले नेकपा (एमाले) का नन्दराम देवकोटालाई पराजित गर्नुभएको हो ।

मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीका अनुसार शर्माले ३९ हजार पाँच सय ४९ मत र उहाँका प्रतिस्पर्धी एमाले उम्मेदवार देवकोटाले १२ हजार नौ सय ६१ मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ रुकुम पश्चिममा कूल ५७ हजार दुई सय ९५ सदर मत खसेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपककुमार मल्लले सात सय ९६, मङ्गोल नेशनल अर्गनाइजेशनका उम्मेदवार हरिबहादुर पुनले दुई सय आठ र स्वतन्त्र उम्मेदवार तारक केसीले तीन हजार पाँच सय ६७ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, रुकुम पश्चिममा प्रदेशसभा सदस्यतर्फ दुवै क्षेत्रमा माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा (१) मा माओवादी केन्द्रका महेन्द्र केसीले १९ हजार ३३ मत ल्याएर निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेका नारायणकुमार शाहले आठ हजार ८१ मत ल्याउनुभएको छ ।

त्यसैगरी, रुकुम पश्चिम प्रदेशसभा (२) मा माओवादी केन्द्रकै्र उम्मेदवार राजकुमार शर्माले २० हजार एक सय ६० मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी एमालेका कर्णबहादुर घर्तीमगरले आठ हजार ८८ मत प्राप्त गर्नुभएको छ ।