दुई जनामाथि हत्या गरेर फरार अभियुक्त पक्राउ « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Thu Dec 8 2022


दुई जनामाथि हत्या गरेर फरार अभियुक्त पक्राउ


221
Shares

नवलपरासी । नवलपरासीमा दुई जनामाथि हत्या गरेर फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

नवलपरासी बर्दघाट नगरपालिका–४ को एक खाजा पसलमा पुगेर दुई जनामाथि खुकुरी प्रहार गर्ने अभियुक्तलाई प्रहरीले आज बुधबार पक्राउ गरेको हो । खुकुरी प्रहार गरेका मध्ये एक जनाको मृत्यु भएको हाे । अर्काको अवस्था चिन्ताजनक रहेकाे छ ।

पक्राउ पर्नेमा बर्दघाट नगरपालिका–२ का ५० वर्षीय ज्ञानेन्द्रबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले बताउनुभयाे । मंगलबार राति करिब ९ बजेको समयमा खाजा पसलमा पुगेका अभियुक्त रानाले पसलधनी ४२ वर्षीय विष्णु कुमारी काउछा र कोठामा बसेका ४६ वर्षीय दिलिप कुमार पुनमाथि एकाएक खुकुरी प्रहार गरेका थिए ।

दुवै जनालाई टाउमा खुकुरी प्रहार गरिएको थियो । खुकुरी प्रहारबाट गम्भीर भएका पुनको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको छ । मृतक बडीघाट गाउँपालिका–४, बाग्लुङका हुन् । चिन्ताजनक अवस्थामा भैरहवा मेडिकल कलेजमा उपचार भइरहेकी विष्णु पनि बडीघाटबाट बर्दघाट आएकी हुन् ।

विष्णुका श्रीमान भने बाग्लुङमै छन् । दुई छोराहरु कोरिया र रोमानियामा कामको शिलशिलामा रहेका छन् । विगत ४-५ वर्षदेखि विष्णुले एक्लै बर्दघाटमा खाजा पसल सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ । मृतक पुन र विष्णुबीच नाताले दाजु बैनी पर्ने रहेको प्रहरीले जनाएको छ ।

मृतक पुन बेला बखत विष्णुको पसलमा आउने गरेका थिए । खुकुरी प्रहारपछि भागेका अभियुक्त रानालाई आफ्नै घरमा लुकेको अवस्थामा पक्राउ गरिएको हो । उनले के कारणले खुकुरी प्रहार गरे भन्नेबारे अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताउनुभएकाे हाे ।