काठमाडौं, भदौ ८ । आसन्न चौथो बिम्स्टेक शिखर सम्मलनको तयारी करिब पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्मेलनमा भाग लिन सबै सदस्य राष्ट्रका कार्यकारी प्रमुख काठमाडौं आउने मन्त्रालयले जनाएको छ ।
बिम्स्टेक सम्मेलन यही भदौ १४ र १५ गते काठमाडौंमा हुँदैछ ।
मन्त्रालयले शुक्रबार गरेको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिम्स्टेकको प्रभावकारिताका लागि सम्मेलन महत्वपूर्ण हुने बताए ।
सम्मेलनमा बिम्स्टेकको चार्टर बनाउने विषयमा नेपालले प्रस्ताव लैजाने उनले जानकारी दिए ।
सम्मेलनमा विद्युत् प्रसारणलाइनको विषयमा सदस्य राष्ट्रबीच हस्ताक्षर हुने र यसले यस क्षेत्रमा विद्युत् व्यापारको ढोका खोल्ने मन्त्री ज्ञवालीले बताए ।
यस्तै, सम्मेलनमा बिम्स्टेकको १६ ओटा कार्यक्षेत्रलाई समायोजन गरी पाँचमा झारिने जनाइएको छ ।
सम्मेलनमा सहभागी हुन श्रीलंका राष्ट्रपति र भूटानका अन्तरिम सरकारका प्रमुख भदौ १३ गते नै काठमाडौं आइपुग्ने जनाइएको छ ।
यस्तै, सम्मेलनका दिन भदौ १४ गते बिहान भारत, बंगलादेश, थाइल्यान्ड, म्यानमारका कार्यकारी प्रमुख काठमाडौं आउनेछन् ।
सम्मेलनको दिन बिहान आगन्तुकहरुको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिवाभोजको आयोजना गर्ने मन्त्रालयले जनाएको छ ।
सम्मेलनको उद्घाटन कार्यक्रम सम्पन्न भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आगन्तुकलाई होटल हायातमा रात्रिभोजको आयोजना गर्नेछन् ।
सम्मेलनपछि श्रीलंका र म्यानमारका कार्यकारी प्रमुखले भदौ १६ गते लुम्बिनीको भ्रमण गर्ने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ ।
सोही अवसरमा नेपाल र भारतबीच रक्सौल–काठमाडौं रेल्वे र वल्क कार्गोको विषयमा ‘एमओयु’ हुने मन्त्री ज्ञवालीले जानकारी दिए ।
यस्तै, पशुपति क्षेत्रमा भारतको सहयोगमा बनाइएको धर्मशालाको उद्घाटन एवं हस्तान्तरण गर्ने कार्यक्रम पनि रहेको मन्त्रालयले जनाएको छ ।
बिम्स्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, थाइल्यान्ड र म्यानमार सदस्य छन् ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) सन् १९९७ जुन ६ मा स्थापना भएको थियो ।









प्रतिक्रिया दिनुहोस्