सन्तोष राउत
सोलुखुम्बु, भदौ ८ । सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिकाको केन्द्रमा लक्ष्मी बैंकले शाखा विस्तार गरेको छ ।
जिल्लाकै पहिलो गाउँपालिकाका रुपमा कारोबार शुरु गरेको उक्त बैंकले बिहीबार औपचारिक रुपमा शाखा उद्घाटन गरी कारोबार थालेको हो । सोलुका स्थानीय तहमध्ये हालसम्म नगरपालिकामा मात्र बैंक छन् ।
बैंकको शाखा उद्घाटन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष असिम राईले बैंक छिटो सञ्चालनमा ल्याउनका लागि भवनलगायत आधारभूत आवश्यकताको तयारी गर्न पहिलो प्राथमिकतामा राखेर धेरै मेहनेत गर्नु परेको बताए ।
अब गाउँपालिकाका सबै कारोबार बैंकमार्फत नै गर्ने उनको भनाइ छ । गाउँपालिकामा बैंक नभएका कारण साना योजनाको खातासमेत सदरमुकामका बैंकहरुमा खोल्न बाध्य हुनुपरेको र हरेक आर्थिक कारोबारका लागि सदरमुकाम धाउनु पर्दा जनतालाई धेरै कठिनाई भएको अध्यक्ष राईले बताए ।
बैंक नहुँदा नयाँ राज्य संरचनाको आभास पाउन नसकेका स्थानीयले अब भने गाउँगाउँमा सिंहदरबारको अुनभुति गर्ने उनले बताए ।
दुर्गम जिल्लाको दुर्गम गाउँमा सेवा विस्तार गरेको बैंकका शाखा प्रबन्धक प्रयास अधिकारीले इन्टरनेटसमेत सञ्चालनमा आएकाले सबै किसिमका सेवा दिन बैंक सक्षम भएको जानकारी दिए । बैंकले निक्षेप, कर्जालगायत सबै सेवा दिने उनले बताए ।
बैंकले सेवा शुरु गरेपछि धेरै समय र श्रम खर्च गरेर सानो रकमका लागि पनि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य भएको वडा नम्बर ४ का अध्यक्ष नातीकाजी गुरुङले बताए । सदरमुकाम सल्लेरी आउँदा चार दिनसम्म लाग्ने गरेको सम्झदैँ अब एकै दिनमै काम सकेर घर फर्कन मिल्ने उनले बताए ।









प्रतिक्रिया दिनुहोस्