काठमाडौं, भदौ ७ । कृषि सहकारी केन्द्रीय संघ लिमिटेडले सरकारले जिम्मा दिए किसानको उत्पादन सोझै उपभोक्तमाझ पुर्याएर तरकारी बजार व्यवस्थापनमा सघाउन सक्षम र तयार रहेको जनाएको छ ।
संघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय कालिमाटी तरकारी तथा फूलफूल बजारलगायतका बजारहरुमा व्यापारी र सन्चालकबीच देखिएको समस्या समाधान गर्न सहयोग गर्न सक्षम रहेको दाबी गरेको हो ।
सरकारी र निजी व्यवस्थापनमा रहेका बजारमा बिक्री–वितरण हुँदै आएको तरकारीलगायतका कृषिउपजमा किसानले पाउने र उपभोक्ताले तिर्ने मूल्यबीचको अन्तर धेरै फरक रहेको प्रस्ट भइसकेको छ ।
तरकारीको मूल्यमा देखिएको असमानता र बिचौलियाका कारण भएको मूल्यवृद्धि कम गर्नतर्फ सरकारले तत्परता देखाएपनि प्रभावकारी नदेखिएको संघले जनाएको छ ।
यस्तो अवस्थामा गाउँ तहदेखि बजार क्षेत्रमासमेत उत्पादन र बिक्री–वितरणमा सोझै उपभोक्ताको बीचमा पुग्ने सहकारी मोडेलबाट कृषि उत्पादनको बजारीकरण गर्नसकिने पर्याप्त सम्भावनाहरु रहेको उसको भनाइ छ ।
देशभरका ९०० भन्दा बढी कृषि सहकारीका ४० हजारभन्दा बढी कृषि व्यवसायीहरु र अन्य व्यावसायिक किसानहरुले उत्पादन गरेको उत्पादनलाईसमेत किसानकोबाट बजार र बजारबाट सोझै उपभोक्तासम्म पुर्याउन संघ सक्षम रहेको जनाएको छ ।
सहकारी मोडेलमा राष्ट्रिय र प्रदेश तहमा ठूला तरकारी बजार निर्माण गर्नसके अहिले देखिएको समस्या समाधान गर्नसकिनेतर्फ पनि संघले सरकारको ध्यानाकर्षण गराएको छ ।









प्रतिक्रिया दिनुहोस्