२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


कसैले नहेरेको भन्दै राज्यप्रति द्वन्द्व पीडितको गुनासो


221
Shares

डडेल्धुरा । डडेल्धुराका द्वन्द्व पीडितले कसैले नहेरेको भन्दै राज्यप्रति गुनासो गरेका छन् ।

१० वर्षे सशस्त्र द्वन्द्वकालमा आफूहरुलाई कुटपिट गरिएको र घरमा आगो लगाइएको घटनालाई स्थानीय जनप्रतिनिधि र केन्द्रबाट कसैले पनि वास्ता नगरेको भन्दै परशुराम क्षेत्रका द्वन्द्व पीडितले आक्रोश प्रकट गरेका हुन् ।

जिल्लाको भित्रि मधेश एवं दुर्गम बस्ती महाकाली वारी परिगाउँ बहादुरे बस्ने ५५ वर्षका नन्दराज भट्टराईले राज्य पक्षबाट निर्घात रुपमा कुटपिट गरेर श्रीमान-श्रीमतिसहित ४ छोरा बिचल्लीमा परेकाे र आफ्नै खर्चबाट उपचार गरेकाे बताउनुहुन्छ । तर राज्य पक्षबाट कुनै राहत नपाएको उहाँले गुनासो गर्नुभएकाे छ ।

४ महिनाको छोरा आगोमा जलेको र उसको अनुहार र शरिर अहिले पनि द्वन्द्वको झझल्काे दिइरहेको स्थानीय जेष्ठ धर्मानन्द भट्टले गुनासाे गर्नुभयाे । संकटकालका पीडितलाई कसैले नहेरेकाे र यो सडक लगायतका भौतिक विकासबाट मात्र यहाँका जनता सन्तुष्ट नरहेको उहाँकाे भनाइ छ ।

ऐलानी जग्गामा बसेर गास बासको समस्या भोग्दै जीवन निर्वाह गरिरहनु भएका भट्टराई सामान्य चिया पसल गरेर परिवारलाई पाल्नुभएकाे छ । दैनिक जीवन गुजारिरहेको सबैले देखेकाे तर राहत दिने कामा कसैबाट नभएकाे भन्दै उहाँले गुनासाे गर्नुभयाे । चुनावका बेला मात्र घरदैलोमा आउने उम्मेदवारप्रति उहाँ आक्रोशित हुनुभएकाे छ ।