
काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचारप्रसारमा हेलिकाेप्टरको प्रयोगको विषयलाई लिएर गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताउनुभएको छ ।
आज निर्वाचन आयोगमा भएको निर्वाचन आचारसंहिता कार्यान्वयन सम्बन्धी छलफलमा उहाँले हेलिकाेप्टरको प्रयोगको विषयमा गृह मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । उहाँले चुनावको प्रचार गर्न बिरामी भएको नाटक गर्ने गरेको उजुरी आएकाले त्यसतर्फ संवेदनशील बन्न गृह मन्त्रालयलाई आग्रह गर्नुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगमा बिरामीको नाटक गरी चुनावी प्रचारप्रसार गरेका दुईवटा उजुरी आएकाले आयोग कारबाहीको लागि अग्रसर रहेको बताउनु भयो । उहाँले निर्वाचन आचारसंहीतामा ७२ घण्टा हेलिकाेप्टर उडाउन पाउने उल्लेख गरेका कारण संखुवासभामा चुनावी प्रचारमा समय गनेर नै ७२ घण्टामा विभिन्न १० ठाउँमा चुनावी प्रचारप्रसार गरेको पाइएकाले गृह मन्त्रालय गम्भीर बन्नुपर्ने देखिएको बताउनु भयो ।
उहाँले आसन्न निर्वाचनमा हालसम्म भौतिक उपस्थिति सहितको आचारसंहिता उल्लंघन कम रहे पनि सामाजिक सञ्जालमा भने निर्वाचन आचारसंहिता बढेको बताउनु भयो । उहाँले सामाजिक सञ्जालबाट आचारसंहिता उल्लंघन गर्नेहरुलाई कारबाही गरिरहेको भन्दै सामाजिक सञ्जालको प्रयोग गर्दा संवेनशील बन्न ध्यानाकर्षण गराउनु भयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले यस पटकको निर्वाचनमा मौन अवधि नरहेकाले निर्वाचनअघिको ४८ घण्टाको समयलाई कसरी व्यवस्थित बनाउने भन्नेमा आयोगले आवश्यक कार्य गरिरहेको पनि बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्