भ्रष्टाचारीमाथि डोजर चलाउँछौ : अध्यक्ष लिङ्देन « Imagekhabar – Online News Portal of Nepal
१६ मंसिर २०७९, शुक्रबार | Fri Dec 2 2022


भ्रष्टाचारीमाथि डोजर चलाउँछौ : अध्यक्ष लिङ्देन


२५ कार्तिक २०७९, शुक्रबार १८:४५

910
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीहरुमाथि डोजर चलाउने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा राप्रपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीहरुमाथि डोजर चलाउने बताउनुभएको हो ।

उहाँले काठमाडौं उपत्यकाका मेयर बालेन साहले अवैध संरचनामाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारीहरु माथि डोजर चलाउने इच्छा रहेको बताउनुभयो । उहाँले एक नागरिक आयोग गठन गरी वि.सं.२०४६ सालपछि जिम्मेवारी पाएका राज्यका उच्चपदस्थहरुको सम्पती छानबिन गरी अवैध सम्पती जफत गर्ने बताउनुभयो ।

अध्यक्ष लिङ्देनले भ्रष्टाचारको बिरुद्धमा आफू निरन्तर लागिरहेको उल्लेख गर्नुभयो । उहाँले आफू संसदमा एक्लो भएकाले आगामी निर्वाचनबाट आफूलाई संसदमा साथी दिलाइदिन आम मतदातासँग आग्रह गर्नुभयो । आफूले पाँच वर्ष संसदमा खेलेको भुमिका राम्रो लागेको भए आफूसँगै राप्रपाका अन्य उम्मेदवारहरुलाई पनि जिताउन उहाँले आग्रह गर्नुभयो ।

अध्यक्ष लिङ्देनले पुराना दलहरुलाई फेरीपनि मतदान गर्नु देशलाई बर्बाद गर्नु भएको टिप्पणी गर्नुभयो । उहाँले कांग्रेस र कम्युनिष्ट मतदाताहरुलाई आफ्नो पार्टी नछाडेपनि मत भने राप्रपालाई दिनका लागि आग्रह गर्नुभयो । उहाँले काठमाडौं र धरानको स्थानीय तहको मत परिणामजस्तै गरी राप्रपाको पक्षमा परिणाम आउनुपर्ने बताउनुभयो । उहाँले बाकस खोल्दामात्रै थाहा हुनेगरी हलो चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो ।

उहाँले वर्तमान राजनीतिक व्यवस्था र नेतृत्व असफल भइसकेकाले व्यवस्था र नेतृत्व परिवर्तन गर्नुपर्ने बताउनुभयो । ठूला राजनीतिक दलहरुको विकल्पको रुपमा राप्रपा रहेको उहाँले बताउनुभयो ।