२५ मंसिर २०८०, सोमबार | Tue Dec 12 2023


बिम्स्टेक सम्मेलनको तयारी करिब पूरा, कार्यक्षेत्र पाँचओटामा झारिने, के–के हुँदैछ ?


0
Shares

काठमाडौं, भदौ ७ । आसन्न चौथो बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनको तयारी करिब पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्मेलनमा नेपालसहित सातै सदस्य राष्ट्रका राष्ट्रप्रमुख एवं राष्ट्राध्यक्ष आउने निश्चित भएको छ ।

बिम्स्टेक सम्मेलन यही भदौ १४ र १५ गते काठमाडौंमा हुन लागेको हो ।

बिम्स्टेकको २१ वर्षको अवधिमा हुन लागेको चौथो सम्मेलनमा यसको कार्यक्षेत्रलाई पाँचओटा क्षेत्रमा झारिने जनाइएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले १६ ओटा कार्यक्षेत्रलाई पाँचओटामा झार्न लागिएको जानकारी दिए ।

यस्तै, सम्मेलनकाक्रममा ऊर्जासम्बन्धी सम्झौता, यातायात सवारी–साधनको आवतजावतको विषयमा पनि सम्झौता हुने मन्त्री ज्ञवालीले बताए ।

सम्मेलनमा नेपालले राजनीतिक संक्रमणकाल टुंग्याइ स्थीर राजनीतिमा गएको सन्देश पनि दिनेछ ।

यस्तै, बहुपक्षीय सहयोगबाट नेपाल पछि नहट्ने सन्देश सम्मेलनबाट दिने उनले बताए ।

सम्मेलन सुरु हुने अघिल्लो दिन अर्थात् भदौ १३ गते परराष्ट्रमन्त्रीस्तरीय १६औं बैठक हुनेछ ।

सम्मेलनमा सहभागी हुन आउने सदस्य राष्ट्रका राष्ट्रप्रमुख एवं राष्ट्राध्यक्षहरुका लागि अनौपचारिक कार्यक्रम रि–ट्रिटसम्बन्धी कामको तयारी भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

योपटक सम्मेलनको नारा ‘शान्त, समृद्ध र दीगो बंगालको क्षेत्रतर्फ’ भन्ने तय गरिएको छ ।

सदस्य राष्ट्रकारुपमा नेपालले यसबाट अपेक्षा गरिएअनुसारको प्रतिफल लिन नसकेपनि बिम्स्टेकमार्फत् दक्षिणपूर्वी क्षेत्रसँग भने सम्बन्ध विस्तार गर्न सफल भएको मन्त्री ज्ञवालीको भनाइ छ ।

बिम्स्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, थाइल्यान्ड र म्यानमार सदस्य छन् । बिम्स्टेक सन् १९९७ जुन ६ मा स्थापना भएको थियो ।