
काठमाडाैं । अवाञ्छित हस्तक्षेपबाट पत्रकारितालाई जोगाउन सरोकारवालाहरुले जोड दिएका छन् । प्रेस स्वतन्त्रताको प्रत्याभुतिका लागि सबैले मिलेर काम गर्नुपर्नेमा उनीहरुको जोड छ ।
मंगलवार काठमाडौंमा प्रेस काउन्सिलले गरेको निर्वाचन सम्बन्धी मिडिया अनुगमनको छलफलमा वरिष्ठ पत्रकारहरुले नेपाली पत्रकारिताको स्वतन्त्रताको हकहितका लागि विशेष गरी प्रेस काउन्सिल र पत्रकार महासंघले जोड दिनुपर्ने बताएका हुन् ।
उनीहरुले निर्वाचन आयोगले प्रेस काउन्सिलमाथि अराजकता देखाएको आरोप पनि लगाए । वरिष्ठ पत्रकार सोमनाथ घिमिरेले आयोगले बनाएको आचारसंहितामा प्रेस स्वतन्त्रताको हनन हुने प्रावधान भए प्रेस काउन्सिलले असहमत छाैँ भन्ने हैसियत राख्न सक्नुपर्ने बताउनु भयो ।
वरिष्ठ पत्रकार किशोर नेपालले पत्रकारिताको नाममा राजनीति गर्ने खेल बन्द गर्नुपर्ने बताउनु भयो । यस्तै वरिष्ठ पत्रकार किशोर श्रेष्ठले काउन्सिलको निर्वाचन आयोगमाथिको हस्तक्षेप कम भएको अनुभुति गरेको बताउनु भयो ।
वरिष्ठ पत्रकार गोपाल बुढाथोकीले कन्टेन्टलाई हेरेर प्रेस काउन्सिल निर्मम बन्नुपर्ने बताउनु भयो । वरिष्ठ पत्रकार तारानाथ दाहालले अहिलेको प्रेस काउन्सिलको आचारसंहिता सिद्धान्त भन्दा बाहिर गइसकेको आरोप लगाउनु भयो । यस्तै, वरिष्ठ पत्रकार महेन्द्र बिष्टले अहिलेको काउन्सिललाई संस्थागत र कानूनी हिसावमा पुनः संरचना गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले आयोग प्रेसप्रति अनुदार ढंगले प्रश्तुत भइरहेको टिप्पणी गर्नुभयो । यस्तै वरिष्ठ पत्रकार विष्णु निष्ठुरीले सबै संस्थाहरुप्रति उदासिनता हुने क्रम बढीरहेको भन्दै प्रेस काउन्सिल जागरुक हुन जरुरी रहेको बताउनु भयो ।
यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पछिल्लो समय आयोगको प्रेसप्रतिको अभिव्यक्तिले स्वतन्त्रतालाई नै कुण्ठित बनाएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्