
कैलाली । रोपाईं सकिएको लामो समय बितिसक्दा पनि रासायनिक मल नपाउँदा कैलालीका किसान चिन्तित भएका छन् ।
मल हाल्ने समय बित्न लाग्दासमेत बजारमा मल अभाव भएपछि किसानलाई बाली बिग्रने चिन्ता बढेको छ ।
कैलारी गाउँपालिकाका किसानले रोपाइँ सकेको लामो समय बितिसक्दा खेतमा मल हाल्न पाएका छैनन् ।
धान रोपेर गोडमेल पनि गर्न भ्याएका किसानले खेतमा रोपेको धान पसाउने तयारीमा भइसक्दा पनि मल हाल्न नपाएको गुनासो गरेका छन् ।
सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धानको ब्लक क्षेत्र लागू परे पनि धान पसाउने बेलासम्म पनि मल पाउन नसकेको उनीहरुको गुनासो छ ।
धानको पकेट क्षेत्रअन्तर्गत पर्ने कैलारी गाउँपालिकाका भुइयाफाँटाका किसानले पनि खेतमा मल हाल्न नपाएको गुनासो गरेका छन् ।
मल हाल्न नपाउँदा उत्पादन घट्ने चिन्ता उनीहरुको छ ।
निर्वाहमुखी कृषिलाई व्यावसायीक र आधुनिकीकरण गरी देशलाई अन्नमा आत्मनिर्भर गर्ने उद्देश्यले सरकारले दुई वर्षदेखि देशका विभिन्न जिल्लामा प्रधानमन्त्री कृषि आधुनिककीकरण परियोजना सञ्चालन गरिरहेको छ ।
तर परियोजना लागू भएकै जिल्लाका किसानले मल पाउन सकेका छैनन् ।
गोबरैला धान ब्लक सञ्चालक समितिका अध्यक्ष रमाकुमारी चौधरीले सरकारी मल बिक्री गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड धनगढीलाई पटकपटक आग्रह गरे पनि आवश्यकता अनुसार मल पाउन नसकेको बताए ।
कैलालीमा साढे ७२ हजार हेक्टरमा धान खेती गरिएको छ । तर सरकारी मल बिक्री गर्दै आएका कृषि सामग्री केन्द्र र साल्ट ट्रेडिङका गोदाम रित्तै छन् ।
वर्से धानका लागि कैलालीमा मात्र साढे ७ हजार मेट्रिक टन युरिया मल आवश्यक पर्छ ।
तर कृषि सामग्री केन्द्रले प्रदेश नम्बर ७ का ७ वटा जिल्लामा ५ हजार मेट्रिक टन युरिया मात्र बिक्री गरेको छ ।
प्रतिक्रिया दिनुहोस्