
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि जुम्लामा ८७८ कर्मचारी खटिने भएका छन् ।
निर्वाचनका लागि मतदान अधिृकत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी र स्वयंसेवक लगायतका कर्मचारी खटिने जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जानकारी दिनुभयो ।
जिल्लाभर १ सय ६ मतदान केन्द र ८३ वटा मतदानस्थल कायम गरिएको छ । प्रति मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, पाँच सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी कर्मचारी रहने छन् ।
त्यसैगरी चार जना स्वयंसेवक मतदान केन्द्रमै नियुक्त गरेर खटाइने निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । जुम्लाका एक प्रतिनिधि सभा र दुई प्रदेश सभा सदस्यका लागि जिल्लाका ८ वटै स्थानीय तह गरी ६८ हजार ६ सय ३८ मतदाता रहेका छन् ।
जसमा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र-१ मा पुरुष १८ हजार ८ सय ७८, महिला १७ हजार ९ सय ५ गरी जम्मा ३६ हजार ७ सय ८३ जना र क्षेत्र नम्बर २ मा पुरुष १६ हजार ८ सय २२ महिला,१५ हजार ३३ गरी जम्मा ३१ हजार ८ सय ५५ जना रहेका छन् ।
मतदाता शिक्षाका लागि सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत संयोजक रहने गरी वडासचिव र महिला स्वयंसेविकालाई परिचालन गरिने छ । मतदाता शिक्षाका लागि जिल्लास्तरीय समिति समेत गठन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीको संयोजकत्वमा रहेको समितिमा जिल्ला समन्वय समिति अधिकारी, सदरमुकाममा रहेको सथानीय तहका प्रमुख प्रशासकीय अधिकृत, नेपाल पत्रकार महासंघका प्रतिनिधि र जिल्ला निर्वाचन अधिकारी सदस्य सचिव रहने गरी समिति गठन गरिएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्