Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


जेलमा रहेका पूर्वराष्ट्रपति गयुमको स्वास्थ्य अवस्था जटिल


0
Shares

माले, भदौ ७ । माल्दीभ्सका पूर्वराष्ट्रपति मौमुन अब्दुल गयुमको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ । 

जेल जीवन बिताइरहेका ८३ वर्षीय गयुमको अवस्था थप बिग्रिदै गएको चिकित्सकहरूले जानकारी दिएका छन् । 

उनलाई राखिएकै ठाउँमा भेट्न गएको चिकित्सकहरूको टोलीले गयुमलाई विषेश उपचारको व्यवस्था गर्न सुझाव दिएको छ । 

एम्नेष्टी इन्टरनेशनलका थायीब इबु फैसलले सामाजिक सञ्जाल ट्वीटरमा ८३ वर्षीय वृद्ध पूर्वराष्ट्रपति गयुम धेरै बिरामी भएको जानकारी दिएका छन् ।

चिकित्सकहरूको टोलीले उनलाई थप उपचार आवश्यक भएको सिफारिश गरेको पनि फैसलले ट्वीटमा उल्लेख गरेका छन् ।

चिकित्सकहरूको सिफारिश र एम्नेष्टीको आग्रहलाई माल्दीभ्सको सुधार विभागले भने अस्वीकार गर्दै आइरहेको छ । 

गयुमकी छोरी तथा पूर्वविदेश मन्त्री डुन्या मौमुनले पनि ट्वीट गर्दै आफ्नो बुबाको स्वास्थ्य अवस्था राम्रो नभएको थाहा पाएको बताएकी छन् ।

माल्दीभ्सको अदालतले १९ महीने जेल सजायको फैसला गरेकाले गयुम गत जुनदेखि काराबास जीवन भोगीरहेका छन् ।

आगामी निर्वाचनबाट पनि अर्को कार्यकालका लागि आफ्नो जितलाई सजिलो बनाउन वर्तमान राष्ट्रपति अब्दुल्ला यमिनको योजनाअनुसार अदालतले उनलाई जेल सजायको फैसला गरेको आरोप लागेको छ ।

गयुमसँगै तत्कालीन प्रधानन्यायाधीश अब्दुल्ला साइद र सर्वोच्च अदालतका न्यायाधीश अलि हमिदलाई पनि गत फेब्रुअरीमा नियन्त्रणमा लिइएको थियो । 

उनीहरूलाई फरक फरक आरोप लगाइएको छ । गयुमलाई आतङ्कवादलाई सहयोग गरेको आरोप लगाइएको छ भने प्रधानन्यायाधीश र न्यायाधीशलगायत अन्य न्यायिक अधिकारीहरूलाई सरकार ढाल्न घुस लिएको आरोप लगाइको छ । 

अभियोग लागेकाहरूले भने आफूहरूलाई लगाइएको अभियोग पूर्वाग्रही र प्रतिशोधपूर्ण भएको भन्दै त्यसलाई अस्वीकार गर्दै आएका छन् । 

क्षेत्रफलको हिसाबले दक्षिण एसियाको सबैभन्दा सानो तथा केही वर्षअघिसम्म राजनीतिक स्थिरता रहेको मानिने माल्दिभ्समा पाँच वर्षयता राजनीतिक सङ्कट बढ्दै गएको छ । (रासस/एएनआई)