बिराज रोस्यारा
कैलाली, भदौ ७ । धनगढी उपमहानगरपालिकाले ब्यक्तिगत घटना दर्तादेखि नागरिकता सिफारिस र फारम निःशुल्क उपलब्ध गराउने व्यवस्था लागू गरेको छ ।
कर बढाएको भन्दै सर्वत्र आलोचना भइरहेका बेला धनगढी उपमहानगरपालिकाले तेश्रो नगरसभाबाट आर्थिक बर्ष २०७५÷०७६का लागि पारित आर्थिक ऐन २०७५ मा व्यवस्था भएको निःशुल्क प्रवाह गरिने सेवाहरुको सूची सार्वजनिक गरेको हो ।
धनगढी उपमहानगरपालिकाले नागरिकता लिनका लागि गरिने सिफारिस तथा फारम निःशुल्क उपलब्ध गराउन सुरु गरेको छ । उपमहानगरपालिकाका आन्तरिक लेखा परीक्षक लेखनाथ ओझाका अनुसार नागरिकताका लागि गरिने सिफारिस शुल्कदेखि अस्पताल र औषधीका लागि गरिने सिफारिसहरु निःशुल्क दिन थालिएको छ ।
ब्यक्तिगत घटना दर्ता अन्तर्गत जन्म, मृत्यु, विवाह दर्ता, बसाईसराई निशुल्क गरिएको उप–महानगरपालिकाले जनाएको छ । अपाङ्ग परिचयपत्रका लागि गरिने सिफारिस, पेन्सन र सामाजिक सुरक्षा सम्वन्धी सिफारिस, कानुनी सहायताका लागि गरिने सिफारिस र सामाजिक तथा आर्थिक रुपमा पछाडी परेका बर्गका लागि गरिने सबै किसिमका सिफारिस निःशुल्क गरिएको धनगढी उपमहानगरपालिकाका आन्तरिक लेखा परीक्षक ओझाले बताए ।
सडक क्षेत्रदेखि ३० मिटरसम्मको जग्गा ब्यावसायिक र त्यस पछाडीको जग्गा कृषियोग्य भनेर मापदण्ड बनाएर जग्गा मुल्यांकन गरिएको छ । अहिले एकिकृत सम्पत्तिकर समेत १५ प्रतिशतले घटाएको उपमहानगरपालिकाले जनाएको छ ।
धनगढी उपमहानगरपालिकाले मदिरा, सूर्तीजन्य पदार्थ, ईटा उद्योग, क्यासिनो, अस्पताल, नर्सिङहोमलाई करको दायरामा ल्याएको छ । करवृद्धि गरेर जनतालाई दुःख नदिने बताउँदै धनगढी उपमहानगरपालिकाका प्रमुख नृर्प बहादुर वडले करको दायरा बढाउने बताए ।









प्रतिक्रिया दिनुहोस्