
काठमाडौं । क्रिकेटर देव खनालले बलात्कार भएको भनिएको दिन पीडित नाबालिगले सन्दीप लामिछानेको गाडीको पछाडिको भागको फोटो पठाएको बयान दिएका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतमा दायर गरेको अभियोग पत्रमा उक्त बयान उल्लेख छ । खनालले बयानकाे क्रममा भनेका छन्,‘त्यसदिन पीडितले स्न्यापच्याटमा लामिछानेको सेता रंगको गाडीको पछाडिको भागको फोटो पठाएकी हुन्।’
पीडित नाबालिकाको बयान अनुसार खनालले स्न्याप च्याटमा सन्दीप भएकाे एक भिडियाे पठाएका थिए । भिडियाेमा लामिछानेलाई मेन्सन भएको देखेपछि पीडित नाबालिकाले फ्रेण्ड रिक्वेस्ट पठाएकी थिइन् । लामिछानेले आधा घन्टाभित्रै एसेप्ट गरेर कुराकानी थालेकाे पीडित नाबालिकाे बयान दिएकी हुन् ।
घटना हुनुभन्दा तीन चार महिनाअघि मात्रै स्न्यापच्याटमार्फत पीडित भनिएकी नाबालिगसँग आफ्नो चिनजान भएको खनालले भनेका छन् । उनले हालसम्म मैले पीडित नाबालिकालाई मैले नदेखेकाे बयानमा बताएका छन् ।
खनालले बयानकाे क्रममा भनेका छन्,‘निजसँग खेलसम्बन्धी कुराकानी भइरहेकले भएकाले मैले सोसियल मिडियामार्फत चिनेको थिएँ, तर हालसम्म प्रत्यक्ष देखेको छैन, फोटोमा मात्रै देखेको छु ।’
पछि केन्या गएपछि आफू व्यस्त हुँदा उनीसँग कुराकानी हुन नपाएको उनले भनेका छन् । र, विदेशमै हुँदा सञ्चारमाध्यममार्फत लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा जाहेरी परेको थाहा पाएको खनालले भनेका छन् ।
लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै बलात्कार मुद्दासमेत दर्ता भइसकेकाे छ। साेमबार काठमाडाैँ जिल्ला अदालतमा लामिछानेविरुद्ध सरकारी वकिलले मुद्दा दर्ता गरेकाे हाे ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। उक्त अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार सुरू भएकाले उनको मुद्दा दर्ता हुन सकेको थिएन।
प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको प्रहरीले जनाएको छ।
उक्त उफदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय मागदाबी गरेको हो ।
भदौ ५ गते राति सन्दीप पीडित किशोरीसँग होटेल काठमाडौं इनमा प्रवेश गरेको फुजेट प्रहरीले फेला पारेको छ । साथै प्रहरीले भोलिपल्ट बिहान बाहिरिएको पनि सीसीटीभी फुजेट बरामद छ ।
अनुसन्धानकाे क्रममा राति ११ बजे प्रवेश गरेर बिहान ६ः५५ मा होटलबाट किशोरीसँगै सन्दीप बाहिरिएको देखिएकाे छ ।
लामिछाने गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध बलात्कारको जाहेरी परेको थियो । पीडित किशोरीलाई माइती नेपालको संरक्षणमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्