Logo ३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025


महोत्तरी झडप : ८ बुँदे सहमति


0
Shares

काठमाडौं । महोत्तरीको भँगाहा नगरपालिका–८, पररियामा बिहीबार भएको झडपमा संलग्न समुदाय र स्थानीय प्रशासनबीच ८ बुँदे सहमति भएको छ ।

पररियामा हिन्दु बाहिनी सेना सम्राटबाट छठ पर्वको अवसरमा निकालिएको कलश तथा झण्डा यात्राको क्रममा दुई पक्षबीच झडप भएको थियो । झडपमा १५ जनाभन्दा धेरै घाइते भएपछि बिहीबार ४ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयमा शुक्रबार भएको छलफलपछि ८ बुँदे सहमति भएको लोहारपट्टी नगरपालिकाका प्रमुख शैलेन्द्र यादवले जानकारी दिनुभयो । जसमा असमझदारी र झडपको स्थितिलाई नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न घटनामा सम्बद्ध दुवै पक्षलाई र आम नागरिकलाई आह्वान गर्ने सहमति भएको छ ।

घटनामा भएको धनजनको क्षतिको विवरण संकलन गरी क्षतिपूर्तिका लागि सिफारिस गर्न टोली गठन गर्ने, घाइतेको उपचारका लागि आवश्यक व्यवस्था मिलाउन गृह मन्त्रालयलाई अनुरोध गर्ने सहमति पनि भएको छ ।

त्यस्तै, घटनाको छानबिनका लागि उच्चस्तरीय टोली गठन गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने, घटनामा संलग्न दोषी पत्ता लगाई कानुनी प्रक्रिया अघि बढाउने सहमति पनि भएको छ । पररिया क्षेत्रमा सामाजिक सद्भाव कायम गर्न र्‍याली निकाल्ने, दलगत रुपमा शान्ति कायम गर्न अपिल गर्ने पनि सहमति भएको नगर प्रमुख यादवले जानकारी दिनुभयो ।