Logo ३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025


याेजना आयाेगद्वारा नयाँ मापदण्ड बनाउने तयारी


91
Shares

काठमाडाैं । सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको शीघ्र कार्यान्वयनका लागि वन क्षेत्रको जग्गा सहजरूपमा उपलब्ध गराउन नयाँ मापदण्डको तयारी गरेको छ । वन नियमावली २०७९ सँग तादम्य हुने गरी नयाँ मापदण्ड बनाउन लागिएको हो ।

राष्ट्रिय योजना आयोगका तत्कालीन् उपाध्यक्ष डा.विश्वनाथ पौडेलले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको शीघ्र कार्यान्वयनका लागि वन क्षेत्रको जग्गा सहजरूपमा उपलब्ध गराउन यस्तो मापदण्ड बनाउने निर्णय गर्नुभएको थियो ।

वन क्षेत्रको जग्गाको उपलब्धतामा कठिनाइका कारण राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाकै कार्यान्वयनमा ढिलाइ हुने गरेकाले त्यस्तो ढिलासुस्ती अन्त्य गर्न नयाँ मापदण्ड बनाएर काम गर्न लागिएको आयोगले जनाएको छ । नयाँ मापदण्डले वन क्षेत्रको संरक्षण गर्दै आयोजना कार्यान्वयनमा सहजता ल्याउने आयोगको भनाइ छ ।

वन क्षेत्रको जग्गा प्राप्तिमा कठिनाइ हुँदा आयोजना कार्यान्वयनमा ढिला हुने गरेको छ । महाकाली सिँचाई आयोजना लगायतका केही ठूला आयोजनाले यस्तो समस्या व्यहोरिरहेका छन् ।

सरकारले निजी क्षेत्रबाट निर्माण हुने ठूला पूर्वाधारमा पनि वन क्षेत्रको जग्गा सहज प्राप्तिको व्यवस्था गर्न लागेको छ । निजी क्षेत्रका लागि सम्बन्धित मन्त्रालयले वन मन्त्रालयसँगको समन्वयमा राष्ट्रिय वनको जग्गा उपयोग गर्न सक्ने व्यवस्था मापदण्डमार्फत गर्न लागेको छ ।