Logo ११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025


भृकुटीमण्डपमा ५० प्रकारका रोटी प्रदर्शन


1.4k
Shares

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा एक दिने पाँचौं राष्ट्रिय रोटी मेला आयोजना गरिएको छ ।

तिहारको अवसर पारेर सुदूरपश्चिमका थर्कबहादुर साहले काठमाडौंको भृकुटीमण्डपमा एक दिने पाँचौं राष्ट्रिय रोटी मेलाको आयोजना गर्नुभएको हो । उहाँले वर्षेनी तिहारको अवसरमा रोटी मेला आयोजना गरिने मेला यो वर्ष पनि भएको छ । मेलामा विभिन्न जातजातिहरूको पर्वमा प्रयोग हुने विभिन्न प्रकारका रोटी तथा मिठाइका परिकाहरू प्रदर्शनमा राखिएका छन् । मेलाका आयोजक साहले लोप हुँदै गएका नेपाली रैथाने रोटीहरूको संरक्षण गर्नको लागि रोटी मेला आयोजना गरिएको बताउनुभयो ।

उहाँले विभिन्न जातजाति अनुसारका रोटीहरूमा पर्यटन तथा ग्राहकहरूको आकर्षण देखेर रोटीको संरक्षणमा लागेको बताउनुभयो । साहले पहिलो पटक रोटी मेला गर्दा २० परिकार भएपनि अहिले थपिएर ५० प्रकारका रोटी प्रदर्शनीमा राखिएको बताउनुभयो । उहाँले नेपालमा १ सय भन्दा बढी परिकारका रोटीहरू बनाउन सकिने सम्भावना रहेको दाबी गर्नुभयो ।

त्यस्तै, रोटी मेला अवलोकन गर्न आउनेहरूले नेपाली रैथाले रोटीहरूको संरक्षण गर्न रोटी मेलाको आवश्यकता रहेको बताए । मेला अवलोकनकर्ता टंक तिमिल्सिनाले मेला राम्रो भएपनि खाने रोटीहरू गुणस्तर भए/नभएको सरकारी निकायले प्रमाणित गरेर प्रर्दशनी गर्नु राम्रो हुने बताए । त्यस्तै, हरिप्रसाद अधिकारीले नेपाली विभिन्न जातजाति र ठाँउ अनुसारका रोटीका प्रकार एकै ठाउँमा देख्न र खान पाउनु राम्रो भएको प्रतिक्रिया दिनुभयो ।

पाँचौं रोटी मेलामा सेलरोटी, फिनिरोटी,रातो पुरी (नेवारी), दङ्गाली स्वारि रोटी, सेतो पुरी, भुने रोटी, अनरसा सेतो (दङ्गाली), कागती रोटी, निमकिन रोटी, अनरसा (नेवारी), रोट रोटी, अरसा रोटी, मधेसको मठरी, भक्काने रोटी, कोदोको सेलरोटी, शेर्पा रोटी रिकीकर, सिनकामरि, खुरमा लगायतका रोटीहरू राखिएका छन् ।