१५ जेष्ठ २०८१, मंगलबार | Tue May 28 2024


गठबन्धन सरकारले न्यायालयको हुर्मत लियाे : ओली


91
Shares

काठमाडाैं । एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले न्यायालयको हुर्मत लिएको आरोप लगाउनुभएको छ ।

शनिवार नेकपा एमाले जिल्ला कमिटी ललितपुरले पाटनमा गरेको कार्यक्रममा उहाँले सरकारले प्रधानन्यायाधीशलाई घरमा थुनेर राखेर स्वेच्छाचारी व्यवहार गरेको आरोप लगाउँदै अहिलेको जस्तो अवस्था पञ्चायत कालमा समेत नभएको टिप्पणी गर्नुभयो ।

परमादेशी सरकार बनाउने गम्भीर गल्ती विगतमा गरेपनि अव न्यायालयले त्यस्तो खालको गल्ती नगरोस् भन्ने पक्षमा एमाले रहेको ओलीको भनाई छ । भीम रावल र घनश्याम भुसालप्रति संकेत गर्दै अध्यक्ष ओलीले अवसरै अवसर पाएकाहरुले सधैं टिकट पाउनुपर्ने छ र भन्दै प्रश्न समेत गर्नुभयो ।

पार्टीको पक्षमा एक शब्द पनि नबोलेकाहरुलाई टिकट नदिएर सो अवसर अरुलाई दिइएको स्पष्टिकरण दिँदै अध्यक्ष ओलीले २०४८ सालदेखि पद, ओहोदा र सुविधा भोग गरिरहेका एकाधले अरुलाई पनि पालो दिनुपर्ने भएकाले टिकट नपाउनु स्वाभाविक भएको जिकिर गर्नुभयो ।

केही व्यक्तिका प्रवृत्तिको पछि नलाग्न सिंगो पार्टी पंक्तिलाई सचेत गराउँदै उहाँले एमालेमा न्याय हुने र त्यो न्याय सापेक्षामा आधारित हुने आश्वासन समेत दिनुभयो ।

अध्यक्ष ओलीले आगामी मंसीर ४ गतेको निर्वाचनपछि आफ्नो पार्टी नेतृत्वको बलियो सरकार बनाउन योगदान गर्न आह्वान गर्दै परमादेशबाट बनेको सरकारलाई हटाएर देशलाई स्थिरता र विकासको बाटोमा अघि बढाउन सक्ने सरकार मुलुकमा आवश्यक रहेको दोहोर्‍याउनुभयो ।

अध्यक्ष ओलीले तात्कालिन नेकपा एमाले नेतृत्वको सरकारले गरेका जनमुखी र विकासमुखी कार्यक्रम अगाडी बढाएर सम्पन्न गर्न निर्वाचनपछि एमालेकै नेतृत्वमा सरकार बन्नु अपरिहार्य भएको जिकिर गर्नुभयो ।