
काठमाडाैं । उज्यालो र फूलको पर्व मानिने तिहारमा आफ्नो घरआँगन झिलिमिली बनाउने सांस्कृतिक परम्परा धान्न उपभोक्ताको बजारमा भीड छ ।
पहिला पहिला पालामा तेल हालेर उज्यालो बनाउने संस्कृति पन्छाएर उपभोक्ताहरु बजारमा आएका रंगीविरंगी बत्तीमा आकर्षित भएका छन् ।
आर्थिक मन्दी र आयातमा लगाइएको प्रतिबन्धले यस बर्ष झिलिमिलि बत्ती खरिदमा उपभोक्ता थप मारमा परेका छन् । चीनतर्फको बाटो सहज नहुँदा व्यापारीले बजारको मागअनुसार आपूर्ति गर्न सकेका छैनन ।
गत वर्षको तुलनामा यो वर्ष तिहारमा प्रयोग हुने झिलिमिली बत्तिको मूल्य १० प्रतिशतले बढेको छ । राष्ट्र बैंकले आयातामा गरेको कडाई र तातोपानी र रसुवागढी नाका सहजतापूर्वक सञ्चालन नहुँदा बत्तीको मूल्य विगत गत वर्षभन्दा १५ प्रतिशत सम्म मूल्य बढेको छ । यसको प्रत्यक्ष असर क्रेता विक्रेता दुवैमा परेको छ ।
तिहार भन्नेबित्तिकै झिलिमिलीको चाड भन्ने बुझिन्छ । यसैअनूरुप सयपत्री र मखमली फूल,माटाका पाला, विद्युतीय बत्ति, आदि तिहारका विशेषता हुन् । तर मौलिक रुपमा बनाइएका माटाका पाला भन्दा पछिल्लो समय यस्ता बत्ति सजिलो, कम खर्चिलो र हेर्दा आकर्षक भएकाले यसतर्फ उपभोक्ता आकर्षित भएका हुन । यसैकारण गत बर्षभन्दा महंगी दोव्बर भएपनि किन्नैपर्नै बाध्यता भएको ग्राहकको प्रतिक्रिया छ ।
एकातिर सरकारले यस्ता वस्तुको आयातमा कडाई गर्ने अर्कातिर पर्वको निहुँ देखाएर उपभोक्ता जति पनि मूल्य चुकाउन तयार रहने अवस्थाको सहज विन्दु खोज्न जरुरी छ । व्यवहार पन्छाएर लगाइएको नियमले न त राजश्व सुदृढ हुन सकेको छ, न त उपभोक्ताले राहत पाउन सकेका छन् । यसतर्फ सरोकारवाला निकायको सचेततापूर्ण निर्णय बाञ्छनीय देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्