Logo १६ कार्तिक २०८२, आइतबार | Sun Nov 2 2025


जुम्लाका चार गाउँपालिकाको स्थलगत अध्ययन सुरु


130
Shares

जुम्ला । नेपाल सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेका जुम्लाका चार गाउँपालिकाको स्थलगत अध्ययन गर्न सुरु गरिएको छ ।

यही असोज १९-२४ गतेसम्मको अविरल वर्षापछिको बाढी तथा पहिराजन्य विपद्ले क्षतिग्रस्त जुम्लाको कनकासुन्दरी, सिञ्जा, हिमा, तिला र तातोपानी गाउँपालिकालाई नेपाल सरकारले संकटग्रस्त क्षेत्र घोषणापछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका जिओटिक इन्जिनियर पवनबाबु बास्तोला संयोजकत्वको तीन सदस्यीय प्राधिकरणको टोली जुम्ला पुगेर अध्ययन सुरु गरेको हो ।

संकटग्रस्त क्षेत्र घोषणा गरिएका पालिकामध्ये तातोपानी गाउँपालिकाकाको अध्ययन सकिएको प्राधिकरण टोलीका संयोजक जिओटिक इन्जिनियर बास्तोलाले जानकारी दिनुभयो ।

खासगरी बाढी र पहिराले क्षतिग्रस्त गाउँ, पहिरो र उच्च जोखिमको अवस्था र ती गाउँको स्थानान्तरणको गर्न सकिने भूगोललगायतका कुरामा आधारित रहेर अध्ययनमा जोड दिइएको उहाँले बताउनुभयो ।

संयोजक बास्तोलाका अनुसार तिला गाउँपालिका र हिमा गाउँपालिकाको क्षतिग्रस्त गाउँ तथा स्थानको अध्ययन सकेर आज सिञ्जा गाउँपालिकामा पुगेर अध्ययन थालिएको छ ।

नेपाल सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेका जुम्लाका चारवटै गाउँपालिका पुगेर स्थलगत अध्ययन गर्ने जनाउँदै संयोजक बास्तोलाले सबै पुग्न नसकेका वडाहरूको क्षतिको तथ्यगत विवरण संकलन गर्न सम्बन्धित पालिकाका प्राविधिकलाई समेत अभिमुखीकरण पनि गरिएको बताउनुभयो ।

क्षतिग्रस्तस्थलमा सम्बन्धित पालिकाका अध्यक्ष/उपाध्यक्ष पुगेर प्राधिकरण टोलीलाई सहजीकरण गर्न सक्रिय भएको जनाइएको छ ।