१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


वर्तमान सरकार अर्कै प्रयोजनका लागि बनेको हो : अध्यक्ष ओली


52
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसीर ४ पछि आफ्नो पार्टी नेतृत्वको सरकार बन्ने दाबी गर्नुभएको छ ।

अदालतले आफू नेतृत्वको सरकार हटाएको उल्लेख गर्दै अध्यक्ष ओलीले मंसीर ४ गते बस्ने जनताको ‘महाअदालत’ले आफ्नो पार्टी नेतृत्वमा सरकार बनाउने बताउनु भएको हो ।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालद्वारा शुक्रबार काठमाडौंमा आयोजित आदिवासी जनजातिसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो फैसला आफ्नो पार्टीको पक्षमा हुनेगरी परिचालित हुन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।

अध्यक्ष ओलीले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि जनकपुरमा चलिरहेको रेलको गतिमा विकास, निर्माणको कामले तीव्रता पाउने आश्वासन दिँदै त्यसका लागि गाउँगाउँमा गएर पार्टीको पक्षमा जनमत निर्माण गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नुभयो । वर्तमान सरकार काम गर्न नभई अर्कै प्रयोजनका लागि बनेको आरोप लगाउँदै उहाँले त्यसबाट जनताले विकास, निर्माणको आशा गर्नु बेकार हुने पनि बताउनुभयो ।

अध्यक्ष ओलीले निर्वाचनको बेला जनतालाई अल्मल्याउने काम सत्तारुढ दलहरुले गरिरहेको आरोप समेत लगाउनुभयो । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै उहाँले आफूहरुले निर्वाचन आचारसंहिता विपरित फ्रि भिसा र फ्रि टिकटको कुरा नगरेको बताउनुभयो । एमाले जनतालाई सचेत बनाउने र देशलाई समृद्ध बनाउने पार्टी भएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस काममा आफूहरु प्रतिवद्ध रहेको दोहो¥याउनुभयो । उहाँले झापाको दमकमा रंगशाला बनाउनका लागि आफैंले काम सुरु गरेको र त्यो काम पूरा गरेरै छाडने दृढता समेत व्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले अरु पार्टीले २० वर्षमा गर्न नसकेको काम ३ वर्षमै गरेर देखाएको बताउनुभयो । उहाँले सबै जाति, भाषा र संस्कृतिको विकासका लागि एमालेले काम गर्ने गरेको बताउनुभयो ।