Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार यो वर्ष वितरण गरिँदै


104
Shares

काठमाडौं । कोरोनाका कारण तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार यो वर्ष वितरण गरिने भएको छ ।

२०७७ सालदेखि स्थगित भएको पुरस्कार वितरण आगामी मंसिरमा तीन जना मुर्रधन्य स्रष्टा र समाजसेवीलाई दिइने घोषणा गरेको भारती खरेल प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानको शुक्रबार बसेको बैठकले २०७७, २०७८ र २०७९ सालको भारती खरेल स्मृति पुरस्कार क्रमशः वरिष्ठ गीतकार किरण खरेल, माइती नेपालका संस्थापक अनुराधा कोइराला र वरिष्ठ समालोचक वासुदेव त्रिपाठीलाई दिइने निर्णय गरेको सदस्य सचिव प्रयागराज भट्टराई वाशिष्ठले बताउनुभयो । उहाँका अनुसार यो पुरस्कारमा सम्मानपत्र सहित ५१ हजार रुपैयाँ राशी राखिएको छ ।

भक्तिमती एवं विशीष्ठ साहित्य साधिका स्व. भारती खरेलको ८५ औं जयन्तीका अवसरमा यो पुरस्कार वितरण गर्न लागिएको सचिव वाशिष्ठले जानकारी दिनुभयो ।

भक्तिमती एवं विशीष्ठ साहित्य साधिका स्व. भारती खरेलको स्मृतिमा वरिष्ठ समाजसेवी चन्द्रिकानन्द खरेल (पति), वरिष्ठ गायक दीपक खरेल (छोरा) लगायतले स्थापना गरेको प्रतिष्ठानले हरेक वर्ष मंसिर १६ गते यस्तो समारोह गर्दै आएको छ । यो प्रतिष्ठान २०४९ सालमा स्थापना भएको हो ।

प्रतिष्ठानले साहित्य साधिका तथा भक्तिमती भारती खरेलको जन्म जयन्तीको अवसरमा साहित्य, समाजसेवा, भक्ति लगायत विभिन्न क्षेत्रमा आवद्ध विशिष्ठ व्यक्ति एवं संस्थालाई पुरस्कृत गर्दै आएको छ ।

२०४९ सालमा भारती खरेल प्रतिष्ठान स्थापना भएदेखि प्रदान गर्न सुरु गरिएको यस पुरस्कार स्वामी प्रपन्नाचार्य, दयारवीर सिंह कंसकार, भीमबहादुर अधिकारी, साहित्यकार एवं समाजसेवी भद्रकुमारी घले लगायत व्यक्ति र स्वर्गद्वारी आश्रम, जाउलाखेल सत्संग परिवार, अद्वैत संस्था, महेश गुरुकुल सन्याश्रम लगायत संस्थाहरुलाई समेत प्रदान गरिसकीएको छ ।