Logo २७ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025


‘पूर्व सूचना प्रणालीको द्रुत रुपमा विकास गर्न सरकार लागिपरेको छ’


65
Shares

काठमाडाैं । गृह मन्त्रालयले पूर्व सूचना प्रणालीलाई सबै क्षेत्रमा प्रभावकारी बनाउन नसक्दा वर्षेनी विपद्जन्य जोखिमका समस्या बढ्दै गएको भन्दै पूर्व सूचना प्रणालीको द्रुततर विकास गर्न सरकार लागिपरेको बताएको छ ।

गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले नेपालमा बाढीको लागि मात्रै पूर्व सूचना प्रणाली प्रभावकारी भएको पाइएपनि अन्य क्षेत्रमा पूर्व सूचना प्रणालीको व्यवस्थापन र कार्यान्वयन फितलो रहेको बताउनु भयो ।

सचिव सिंहले बाढीबाट हुने मानवीय क्षति कम भएपनि धनको क्षति भने अझै कम गर्न नसकेको बताउनु भयो । डढेलो, चट्याङ, हावाहुरी जस्ता विपद्का घटनाको अझैपनि पूर्व सूचना प्रणालीको विकास हुन नसकेको भन्दै उहाँले चट्याङका कारण हरेक वर्ष नेपालमा १ सय भन्दा धेरैले ज्यान गुमाउने गरेको उल्लेख गर्नुभयो ।

उहाँले सबै खालका जोखिमहरुको पूर्वानुमान हुनसक्ने र पूर्व सूचना दिनसक्ने हो भने जनधनको क्षति कम हुने बताउनु भयो ।

गृहसचिव सिंहले सरकारको विपद् प्रतिकार्य योजनाको परिणामअनुसार यस वर्ष गत वर्षको तुलनामा बाढीबाट हुने मानविय क्षति कम भएको बताउनु भयो । उहाँले सरकारले दिएको पूर्व सूचना र पूर्व तयारीको कार्यान्वयनका कारण गत वर्षको तुलनामा बाढीबाट मानविय क्षति कम भएपनि धनको क्षति कम गर्न नसकेको बताउनु भयो ।

उहाँले अहिले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुमा विपद् व्यवस्थापन कोष राखिएको र उक्त कोषबाट कुनै व्यक्तिको विपद्बाट मृत्यु भएको अवस्थामा तत्काल २ लाख रुपैयाँ र घरको क्षति भए १५ हजार रुपैयाँ तत्काल दिने व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।