
काठमाडाैं । दशैं मनाउन मन्त्री, नेता र कर्मचारीहरु जिल्ला जाँदा सिंहदरवार सुनसान भएकाे छ ।
दशैं सकिएर सरकारी कार्यालयहरु खुल्न थालिसक्दा पनि सिंहदरवारमा चहलपहल भने त्यत्ति बाक्लो देखिएकाे छैन् । नेता र मन्त्रीहरु निर्वाचन प्रयोजनका लागि आ-आफ्नो गृह जिल्ला जाने क्रम बढेसँगै सिंहदरवार सुनसान भएकाे हाे । मन्त्रीहरु निर्वाचनका लागि गाउँमा जाँदा मन्त्रीलाई भेट्न जाने कर्मचारी, राजनीतिक दलका नेता कार्यकर्ता र सर्वसाधारणको भीड कम भएकाे छ । मन्त्री तथा नेताहरु आफ्नो निर्वाचन जिल्ला तथा क्षेत्रमा गएकोले पनि सिंहदरवारमा मन्त्री तथा कर्मचारीहरु त्यत्ति देखिन सकेका छैनन् ।
यसले सिंहदरवार सुनसान हुन पुगेको हो । मंगलबार पनि सिंहदरबारमा मानिसहरुको आवतजावत निकै कम देखिएको छ । आइतबार कोजाग्रत पूर्णिमादेखि दशैं औपचारिक रुपमा सकिएपनि सरकारी कामकाज सुरु भइसक्दा समेत दशैं बिदामा गएका कर्मचारीहरु समेत फर्किसकेको अवस्था छैन् । मन्त्रीहरु पनि निर्वाचनका लागि दौडिरहँदा मन्त्रालयमा आउने सेवाग्राही तथा सर्वसाधारणको भीड भाड घटेको हो ।
हाल मन्त्रालयमा सीमित कर्मचारीहरुलाई मात्रै देख्न तथा भेट्न सकिन्छ । यता पछिल्लो केही दिन यता देशभर वर्षा हुँदा भएको जनधनको क्षतिका कारण पनि नेता तथा मन्त्रीहरु विभिन्न जिल्लामा पुगिरहेका छन् । वर्षाका कारण सडकहरु भत्किँदा राजधानी फर्किनेहरु समयमै काठमाडौं फर्किन सकिरहेका छैनन् । यसले पनि सिंहदरवार जानेहरुको संख्या घटाएको छ । दैनिक हजारौंको संख्यामा मानिसहरु सिंहदरवार प्रवेश गर्ने भएपनि अहिले थाेरै मात्रै मानिसहरु र सवारी साधनहरु देख्न सकिन्छ ।
मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, गृह मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संस्कृति र पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय लगायतका मन्त्रालयको अवस्था हेर्दा कर्मचारी तथा सेवाग्राहीहरुको संख्या न्यून मात्रामा देखिकाे छ ।
प्रतिक्रिया दिनुहोस्