Logo २७ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025


मुगुमा पहिरो : ८ जनाको मृत्यु, ३ बेपत्ता


104
Shares

काठमाडौं । मुगुमा पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । ३ जना बेपत्ता छन् ।

जिल्लाको छायाँनाथ रारा नगरपालिका–११ सालिम गाउँमा सोमबार पहिरोले घर पुरिँदा ८ जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

लगातार बर्षाका कारण पहिरोको डरले आठ जना एउटै घरमा बसेका थिए । मृत्यु हुनेमा चार महिला र चार पुरुष रहेका प्रनाउ हमालले बताउनुभयो । उनीहरुको सनाखत हुन सकेको छैन । पहिरोमा परी तीन जना अझै बेपत्ता छन् ।

बेपत्ताको खोजीका लागि सदरमुकाम गमगढीबाट प्रहरी टोली घट्नास्थलमा पुगेको छ । बर्षा नरोकिएकाले खोजबिनमा समस्या भएको हमालले बताउनुभयो । घट्नास्थल सदरमुकामबाट तीन घण्टाको पैदल दूरीमा छ ।

पहिरो गएको सालिम गाउँमा झण्डै ३५ परिवारको बसोबास रहेको थियो । पहिरो आएपछि उनीहरु सबै सुरक्षित स्थानतर्फ लागेको प्रनाउ हमालले जानकारी दिनुभयो ।

जिल्लाका धेरैजसो ठाउँमा अत्यधिक बर्षाले क्षति पुर्याएको छ । जतातततै पहिरो गएको छ । बाटोघाटो अवरुद्ध तथा निरन्तर बाढी र पहिरो आएका कारण प्रहरी उद्धारमा खटिन नसकेको हमालले बताउनुभयो ।

यसैबीच उद्धार तथा राहतका लागि सुर्खेतबाट आउने भनिएको हलिकप्टर अबेर साँझसम्म गमगढी आउन नसकेको प्रहरीले जनाएको छ । छिमेकी जिल्ला कालिकोटमा समेत पहिरोमा परेकाहरुको उद्धार गर्न आएको हेलिकप्टर उतैबाट सुर्खेत फर्किएको बताइएको छ । मङ्गलबार बिहानै उद्धार र राहतका लागि हेलिकप्टर आउने प्रहरीले जनाएको छ ।

जिल्लामा विभिन्न खोलाबाट उत्पादित बिजुली बन्द छ । पहिरोले मुहानै बगाएपछि जिल्लावासी बिजुलीविहीन अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो । जिल्लाामा टेलिफोन सेवासमेत अवरुद्ध छ ।