Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


काठमाडौं उपत्यका : १५ निर्वाचन क्षेत्रमा ५० भन्दा बढीकाे उम्मेदवारी


182
Shares

काठमाडौं । काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमा ५० बढी उम्मेदवारहरु निर्वाचनमा उत्रिएका छन् । काठमाडौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेद्धवार बालेन शाहले जितेपछि उत्साही स्वतन्त्रहरुले दलका उम्मेदवारलाई राम्रै धक्का दिने लक्षण देखिएको छ ।

काठमाडौ क्षेत्र नम्बर १ मा यो पटक त्रिपक्षीय भिडन्त हुने देखिएको छ । यस क्षेत्रमा कांग्रेसको तर्फबाट प्रकाशमान सिंह, एमालेबाट युवा संघका अध्यक्ष किरण पौडेल र राप्रपाबाट रवीन्द्र मिश्रले उम्मेदवारी दिनुभएको छ । मिश्र गत आमनिर्वाचनमा कांग्रेस नेता सिंहसंग झिनो मतले पराजित हुनुभएको थियो ।

क्षेत्र नम्बर १ बाट पुकार बमले पनि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । काठमाडौ निर्वाचन क्षेत्र नम्बर २ बाट एमालेका मणिराम फुँयाल र पूर्वसभामभुख समेत रहनुभएकी माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीबीच प्रतिपस्र्धा हुँदैछ । विगतमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको निर्वाचन क्षेत्र रहेको २ बाट राप्रपाले नवराज सिंखडाले उम्मेदवारी दिनुभएको छ ।

अध्यक्ष नेपाल गृहजिल्ला रौतहटबाट चुनाव लड्ने भएपछि यो क्षेत्रमा सत्तागठबन्धनले घर्तीलाई उम्मेद्वार बनाएको हो । काठमाडौ ३ बाट एमालेका कृष्ण राईले उम्मेद्वारी दिँदा कांग्रेसबाट सन्तोष चालिसे उम्मेदवार बन्नुभएको छ । राप्रपाबाट गणेश गिरीले उम्मेदवारी दिनुभएको छ भने निरञ्जन पुडासैनीले पनि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

काठमाडौ निर्वाचन क्षेत्र ४ मा कांग्रेस महामन्त्री गगन थापा र एमालेका राजन भट्टराईबीच पुन चुनावी भिडन्त हुने भएको छ । यसअघिको निर्वाचनमा यी दुईबीच मुख्य प्रतिस्पर्धा भएको थियो । यसै क्षेत्रमा राप्रपाबाट ठाकुर मोहन क्षेष्ठ र युवा ईन्जिनीयर आकर्षण पोखरेल, अर्जुन प्रसाई, राधा पोखरेल लगायतले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

काठमाडौ ५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलबीच चुनावी प्रतिष्पर्धा हुनेभएको छ । राप्रपाबाट डा.रामप्रसाद उप्रेती र विवेकशील नेपाली दलकी पूर्व नेतृ रञ्जु दर्शनाले पनि काठमाडौ ५ बाट उम्मेदवारी दिनुभएको छ ।

काठमाडौ ६ मा नेपाली कांग्रेसका भीमसेन दास प्रधान र एमालेका तर्फबाट पूर्वआईजीपी सर्वेन्द्र खनालले उम्मेदवारी दिनुभएको छ । काठमाडौ ७ मा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईले सत्तागठबन्धनकोतर्फबाट उम्मेद्वारी दिँदा एमालेले श्याम घिमिरेलाई उम्मेदवार बनाएको छ ।

काठमाडौको कोर शहरभित्र पर्ने यो निर्वाचन क्षेत्रमा सामाजिक अभियन्ता यादवलाल कायस्थ र नागरिक अभियान्ता रविन्द्र कुमार श्रेष्ठले पनि उम्मेदवारी दिनुभएको छ । काठमाडौ क्षेत्र नम्बर ८ गत स्थानीय तह निर्वाचनमा काठमाडौ महानगरपालिकाको मेयरमा उम्मेदवार बन्नुभएका सुमन सायमीले उम्मेदवारी दिँदा सत्तागठबन्धनको तर्फबाट नेकपा एसका नेता जीवनराम श्रेष्ठ उम्मेदवार बन्नुभएको छ ।

एमालेको तर्फबाट शिवराज वैद्यले उम्मेदवारी दिनुभएको छ । क्षेत्र नम्बर ९ बाट नेकपा एमालेले कृष्णगोपाल श्रेष्ठ र सत्तागठबन्धनले माओवादी केन्द्रकी नेतृ कल्पना धमलालाई उम्मेदवार बनाएको छ । यही क्षेत्रबाट राप्रपातर्फबाट देवेन्द्र प्रधान उम्मेदवार बन्दा विद्या श्रेष्ठ महर्जनले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

काठमाडौ निर्वाचन क्षेत्र नम्बर १० मा कांग्रेसबाट राजन केसीले उम्मेदवारी दिँदा एमालेको तर्फबाट हिमेश केसी उम्मेदवार बन्नुभएको छ । ललितपुरका ३ वटा संघीय निर्वाचन क्षेत्रमा अधिकांश पुरानै अनुहारबीच प्रतिष्पर्धा हुने भएको छ ।

ललितपुर क्षेत्र नम्बर १ मा कांग्रेसबाट उदयशमशेर राणा र एमालेका नवराज सिलवाल,क्षेत्र नम्बर २ बाट नेकपा एसका कृष्णलाल महर्जन र एमालेबाट प्रेम महर्जन तथा क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रकी नेतृ पम्फा भुसाल र एमालेको तर्फबाट अमृत खड्काले उम्मेदवार दिनुभएको छ ।

ललितपुर क्षेत्र नम्बर ३ मा सामाजिक अभियान्ता राजाराम तण्डुकारले स्वतन्त्र उम्मेद्धवारी दिनुभएको छ । एमालेका नवराज गेलाल र माओवादी केन्द्रका सुरेश न्यौपानेले उम्मेदवारी दिनुभएको छ ।

क्षेत्र नम्बर २ मा भने नेकपा एमालेका महेश बस्नेत र नेपाली कांग्रेस भक्तपुर जिल्लाका सभापति दुर्लभ थापाबीच प्रतिस्पर्धा हुने भएको छ । जो जहाँ उम्मेदवार भएपनि विजयको सुनिश्चितको आधार कसैको देखिदैन ।