नारायणी लामिछाने/राजेन्द्र नापित (इमेज)
काठमाडौं, भदौ ५ । काठमाडौंमा तरकारी आपूर्ति गर्ने एकमात्र मुख्य बजार कालिमाटी तरकारी बजार हो ।
तर, बजार व्यवसायी संघका अध्यक्ष पक्राउ परेपछि भने कालिमाटी बजारका व्यवसायी आक्रोशित बनेका छन् र तरकारी बजार नै ठप्प पारेका छन् ।
कृषकबाट सस्तोमा उठाउने र उपभोक्ताको भान्सासम्म पुग्दा त्यही तरकारी छोइनसक्नु भएपछि सरकारी निकायहरु अनुगमनका नाममा बजारमा उत्रिएका हुन् ।
व्यापारी र बिचौलियाका कारण तरकारी र फलफूलमा बजार भाउ अकासिएको निष्कर्ष अनुगमनकारी निकायको छ ।
तर, अनुगमनमा गएका अधिकारी र प्रतिनिधिलाई नै तरकारी व्यापारीले नियन्त्रणमा लिनेसम्मको हर्कत गरेपछि सरकारले काठमाडौंको कालिमाटीस्थित तरकारी बजारका व्यवसायीका अध्यक्षलाई नै नियन्त्रणमा लियो ।
अनुगमन र अध्यक्ष पक्राउको विरोधमा बजार बन्द गराइँदा कालिमाटी क्षेत्र सुनसान रहेको हो ।
काठमाडौंका कुनै स्थानमा तरकारी पुर्याउन होस् वा रेस्टुराँ या कुनै पार्टी, कार्यक्रम गर्दा होस्, तरकारीको मुख्य स्रोत नै कालिमाटी बजार हो ।
तर, अनुगमनमा गएकाहरुमाथि अभद्र व्यवहार गरेपछि सोमबार तरकारी व्यवसायी संघका अध्यक्ष भरत खतिवडा पक्राउ परे ।
त्यसैको विरोधमा तरकारी बजारका व्यवसायीले मंगलबार बजार पूर्णबन्द गर्दा बजार सुनसानजस्तै रह्यो । बजारमा दिनहुँ व्यापार गर्नेहरु काम नभएझैं रल्लिरहेका थिए ।
बजार ठप्प पारेका व्यवसायीहरु कोही चुपचाप देखिन्थे भने कतिपय आफ्नो भएको तरकारीसमेत नबेच्ने अडानमा देखिन्थे ।
कृषकलाई नै मार पर्नेगरी कुनै काम नगरिएको तर सन्चारमाध्यमले गलत रिपोर्ट दिएकाले आफूहरुमाथि कारबाही गरिएको आक्रोश उनीहरुको थियो ।
माग पूरा नहुन्जेलसम्म बजार नखोल्ने चेतावनी दिँदै उनीहरुले सरकारले व्यापारी भन्दै आफूहरुलाई होच्याएको आरोप पनि लगाए ।
सरकारकै व्यवहारले आफूहरु आन्दोलनमा उत्रन बाध्य भएको उनीहरुको तर्क थियो ।









प्रतिक्रिया दिनुहोस्