Logo ३१ भाद्र २०८२, मंगलबार | Wed Sep 17 2025


डडेल्धुरामा प्रधानमन्त्री देउवाविरुद्ध चौतर्फी घेराबन्दी


22.7k
Shares

डडेल्धुरा । आगामी निर्वाचनका लागि मनोनयन दर्ताको मिति नजिकिंदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाकाे गृह जिल्लामा निर्वाचन कस्तो रहला भन्ने आममतदातामा कौतुहल छाएको छ ।

डडेल्धुराका प्रभावशाली नेता वीपी कांग्रेसमा गएपछि ३ दशकदेखि एकछत्र प्रतिनिधित्व गरिरहनु भएका प्रधानमन्त्री देउवाकाे यो चुनाव पहिला जस्तो सहज नहुने प्रष्ट छ ।

प्रतिनिधि सभा एक र प्रदेश सभा निर्वाचन क्षेत्र दुई रहेको डडेल्धुरामा दशैं अगाडि चुनावी गतिविधि सुनसान रहेपनि मनोनयन दर्ताको मिति नजिकिंदै गर्दा चुनावी सरगर्मीले डडेल्धुराको चुनावका बारेमा विभिन्न आँकलन गर्न थालिएको छ ।

एकातिर सातौं पटक चुनावी मैदानमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवा हुनुहुन्छ भने पार्टीको अधिवेशनमा क्रियाशील विवाद समस्या समाधान नगरी एकलौटी गरेको विषयमा देउवासँग असन्तुष्ट निवर्तमान जिल्ला सभापति तथा प्रदेश सांसद समेत रही सकेका कर्णबहादुर मल्लबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

अर्को तिर अक्सफोर्ड विद्यार्थी सागर ढकालले पनि जिल्लाको चुनावी चासोलाई तताउनुभएकाे छ । उहाँ गत साउन १२ देखि जिल्लाका ५२ वटै वडामा आफ्ना एजेण्डा लिएर घरदैलो पुगेर जनतालाई सचेत गराउँदै डडेल्धुरामा नेतृत्व परिवर्तनको प्रचारप्रसारमा लागि पर्नुभएकाे छ । विगतका आम निर्वाचन भन्दा अत्यन्त प्रतिस्पर्धा र रोचक हुने स्थानीय मतदाताको बुझाई रहेको छ ।

नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, राप्रपा लगायतका दल तथा स्वतन्त्रको उम्मेदवारी रहेपनि डडेल्धुरामा मुख्य नेपाली कांग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेस (वीपी) बाट कर्ण मल्लबीच अस्तित्वको लडाइँ स्वरुप चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।