२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


बाँकेमा ७५ घरपरिवारका बाढी पीडितको उद्धार


78
Shares

काठमाडाैं । अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका–१ को चौफेरी गाउँका ७५ घरपरिवारलाई स्थान्तरण गरिएको छ ।

बाढीले गाउँ पूरै डुबानमा परेर घरभित्रसमेत पानी पसेपछि गाउँ नजिकै रहेको आश्रयस्थलमा सारिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको हाे । डुबानमा परेपछि रेडक्रसकर्मी, प्रहरीसहितको टोलीले स्थानीयवासीलाई उद्धार गरी आश्रयस्थलमा राखेको हो । बाँकेका तल्लो तटीय क्षेत्रका करिब ३ सय घर डुबानमा परेका छन् भने दर्जनौं घरमा क्षति पुगेको छ ।

वर्षाले राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका–१ अन्तर्गत पर्ने चौफेरी, कृषि चौफेरी र पाझा गाउँका ३ सय घर डुबानमा परेका छन् । बाढीले घरभित्र पानी पसेर राखिएको अन्नपात लत्ताकपडा भिजेर क्षति पुर्याएको स्थानीयवासीले बताएका छन् । राप्ती नदी र खोलाबीच रहेका ती गाउँबासी त्रसित भएका छन् । घरभित्र पानी पसेपछि गाउँपालिकाले निर्माण गरेको आश्रयस्थलमा बाढी पीडितलाई राखिएको छ ।

लगातारको वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह बढेको छ । त्यसैगरी कुसुम नदी पनि अनियन्त्रित बन्दै गएको छ । राप्तीमा बाढी आएपछि तल्लो तटीय क्षेत्रका फत्तेपुर, गङ्गापुर, होलिया, बेतहनी र कम्दी गाउँलगायत स्थानमा बाढी आउँछ । नेपालगञ्ज, कोहलपुर र खजुरा बजार क्षेत्रका अधिकांश स्थानमा पानी जमेको छ ।