ध्रुव भट्टराई (इमेज)
विराटनगर, भदौ ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले एलपीजी ग्यास सिलिन्डरको बिदाइ सुरु भएको बताएका छन् ।
मंगलबार विराटनगरमा श्रीकृष्ण गौसेवा सदनले सन्चालनमा ल्याएको ‘गोबरग्यास प्लान्ट’को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पाइपबाट ग्यास घरघरमा पुर्याउन सम्भव रहेको भन्दै विराटनगरबाट यसको सुरुआत भएको बताए ।
प्रधानमन्त्री ओलीले पाइपलाइनबाट कार्यक्रमस्थलमा ल्याइएको ग्याससहित चुल्होको बटम खोलेर बायोग्यास आपूर्तिको सुरुआत गरेका हुन् ।
सो अवसरमा उनले यो पाइपलाइनबाट घरघरमा ग्यास पुर्याउन सानो रुपमा सुरु भएपनि यसलाई अझ विस्तार गर्नसकिने उल्लेख गरे ।
गाउँगाउँमा सहकारी, साझा लगानी र समुदायको पहलमा पनि यस्ता योजनालाई विकास गर्नसकिने भएकाले त्यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको उनले बताए ।
विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौ सेवा सदनमा गाईको गोबर संकलन गरेर उत्पादन गरिएको बायोग्यास पाइपलाइनबाट घरघरमा पुर्याउन थालिएको हो ।
वि.सं. २०४४ सालमा स्थापना भएको सामुदायिकस्तरको श्रीकृष्ण गौ सेवा सदनले २१५ बढी गाईको गोवरबाट ग्यास उत्पादन थालेको हो ।
विश्व बैंकको ८५ लाख रुपैयाँ आर्थिक सहयोग तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको समन्वयमा पहिलो चरणमा ४०० मिटर पाइप ओछ्याएर ३२ घरमा ग्यास वितरण गरिएको गौ सेवा सदनका अध्यक्ष शंकरलाल अग्रवालले जानकारी दिए ।
उपभोक्ताको घरघरमा ग्यास चुल्हो बालेर ५ दिन परीक्षण गरेपछि गत साउन २० गते रातिदेखि नियमित आपूर्ति गरिरहेको उनको भनाइ छ ।
सो प्लान्टको निर्माण लागत एक करोड २५ लाख रुपैयाँ पुगेको जनाइएको छ ।
बायोग्यास सहयोग कार्यक्रमअन्तर्गत् सरकारले सदनलाई वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत् ४० लाख रुपैयाँ उपलब्ध गराइदिएको छ ।
नेपालमा गोबरग्यास बलेको झन्डै ३० वर्ष कटिसकेको छ ।
आधिकारिकरुपमा सन् १९९७ बाट कृषि विकास बैंकको अनुदानमा नेपालका ग्रामीण भेगमा गोबरग्यास निर्माण थालिएको हो ।
सरकार, स्थानीय तह तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहकार्यमा तीन वर्षअघि ‘गोबरग्यास प्लान्ट’ योजनाको सुरुआत भएको थियो ।
विराटनगर महानगरपालिकाकाअनुसार मिटर प्रणालीअन्तर्गत् ३२ घरमा पाइपबाट पठाइएको ग्यासको मिटरमा जति पैसा उठ्छ, त्यसैअनुसार गौ सेवा सदनलाई भुक्तानी गर्नुपर्ने व्यवस्था मिलाइएको छ । त्यहाँको ८० घरमा यो प्रणालीबाट ग्यास पुर्याइने जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्