
काठमाडौं । म्याग्दीमा नबाैं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने खेलमैदान तयार पारिएको छ ।
यही असोज २७ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुने नबाैं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको बेनीमा महिला भलिबल र तेक्वान्दोको प्रतिस्पर्धा हुने भएकाे छ । जिल्ला खेलकुद विकास समितिले खेलमैदान निर्माण, मर्मत, खेलाडीको आवास र अभ्यासस्थलको व्यवस्थापन गरिएको जनाएको छ ।
समितिका अध्यक्ष दिनेश केसीले भलिबल सञ्चालन हुने बेनीको खुल्लामञ्च खेलमैदानमा दुई वटा भलिबलको कोर्ट निर्माण र प्याराफिट रङरोगन गरिएको जानकारी दिनुभयो । राखेपले पठाएको ५ लाख बजेटबाट खुल्लामञ्चमा खेलमैदान तयार पारिएको हो ।
तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने कालीपुलको कबर्डहलमा पङ्खा, बत्ती जडान, शौचालय, सयनकक्ष मर्मत, रङरोगन र भवन अगाडि ढलान गरिएको जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक कर्ण प्रधानले बताउनुभयो । बेनी नगरपालिकाले विनियोजन गरेको तीन लाख बजेटबाट तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने कालीपुल कबर्डहलको मर्मत गरिएको उहाँले बताउनुभयाे ।
प्रतियोगितामा खेलाडी, प्रशिक्षक र व्यवस्थापनका लागि ११ वटा टिमका ६ सय १७ जना म्याग्दीमा आउने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्