कुमार चौलागाइँ (रासस)
काठमाडौं, भदौ ५ । नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षककारुपमा काम गरिरहेका जापानी नागरिक ग्यातुकी कोजी नेपाल आउन नपाउने भएका छन् ।
अध्यागमन विभागले नेपाली टोलीका मुख्य प्रशिक्षक कोजीलाई श्रम स्वीकृतिबिना नेपालमा काम गर्दै आएपछि नेपाल प्रवेशमा रोक लागाएको हो ।
प्रशिक्षक कोजी नेपाली टोलीसँग एसियन गेम्सका लागि हाल इन्डोनेसियामा छन् ।
एसियन गेम्समा नेपाल समूह चरणको तीनै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।
विभागले पर्यटक प्रवेशाज्ञामा नेपाल बस्दै आएका र श्रम स्वीकृति नलिइ नेपालमा काम गरेकाले प्रशिक्षक कोजीलाई सन् २०१८ सम्म नेपाल प्रवेशमा रोक लगाएको थियो ।
अध्यागमन विभागका निर्देशक जनार्दन गौतमले पर्यटक प्रवेशाज्ञामा १५० दिन नेपाल बसिसकेको र नियमानुसार श्रम स्वीकृित नलिएकाले कोजीलाई सन् २०१८ भर नेपाल प्रवेशमा रोक लगाइएको जानकारी दिए ।
‘खेलकुद मन्त्रालयको पत्र, गृह मन्त्रालयको सिफारिस र काम गर्ने संस्थाको सिफारिससाथ उहाँले श्रम स्वीकृतिका लागि प्रक्रिया गर्नुपर्नेमा गर्नुभएन । नियमानुसार एक वर्षमा १५० दिन पर्यटन प्रवेशाज्ञामा उहाँ नेपाल बसिसक्नुभएको छ । २०१८ भर उहाँ नेपाल आउन मिल्दैन’–निर्देशक गौतमले भने ।
विभागकाअनुसार पर्यटक प्रवेशाज्ञामा नेपाल बस्ने पर्यटकले वर्षमा १५० दिनमात्र यहाँ बस्न पाउँछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले कोजीलाई नेपालमा काम गर्न कानुनी समस्या रहेको बताउँदै नयाँ प्रशिक्षक चयनका लागि गृहकार्य सुरु गरेको बताए ।
‘कोजी नेपाल आउन नपाउने भएपछि अब के गर्ने भन्ने विषयमा हामी आन्तरिक छलफल गरिरहेका छौं । एक/दुई दिनमा यसको किनारा लगाउछौं’–प्रवक्ता राईले भने ।
‘प्रशिक्षक कोजीको स्थानमा साफ च्याम्पियनसिप कसले हेर्ने र कसलाई ल्याउने भन्ने विषयमा छलफल जारी छ । यसबारे छिट्टै टुंगोमा पुग्छौं’–प्रवक्ता राईको भनाइ थियो ।
सन् २०१६ को मार्चदेखि नेपाली राष्ट्रिय फुटबल टोली प्रशिक्षकको जिम्मेवारी सम्हालेका कोजीको करार अवधि आगामी नोभेम्बरसम्म रहेको छ ।
नेपालले यसै महिना बंगलादेशमा हुने साफ च्याम्पियनसिप खेल्दैछ । एन्फाले बंगलादेशमा हुने साफ च्याम्पियनसिपसम्मका लागि कोजीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।
कोजीलाई अहिले सहायक प्रशिक्षक बालगोपाल महर्जनले सहयोग गर्दै आएका छन् ।
साफ च्याम्पियनसिपको समूह ‘ए’मा रहेको नेपालले यही भदौ १९ गते पाकिस्तानविरुद्ध खेल्दै साफको सुरुआत गर्नेछ ।
नेपालले दोस्रो खेलमा भुटानसँग भदौ २१ र बंगलादेशसँग २३ मा खेल्नेछ । समूह ‘बी’मा भारत, श्रीलंका र माल्दिभ्स छन् ।








प्रतिक्रिया दिनुहोस्