Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


एसियाडको साइक्लिङ माउन्टेन बाइकमा नेपालको प्रदर्शन सहभागितामै सीमित


0
Shares

जकार्ता, भदौ ५ । इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद (एसियाड)को साइक्लिङ माउन्टेन बाइकतर्फ पनि नेपालको प्रदर्शन सहभागितामै सीमित रह्यो ।

मंगलबार इन्डोनेसियाको सुबाङस्थित खे बुन हिलमा भएको साइक्लिङको क्रस कन्ट्री माउन्टेन बाइकतर्फ नेपालका खेलाडी लक्ष्मी मगर र बुद्धिबहादुर तामाङ ‘ल्याप आउट’ भए ।

महिला क्रस कन्ट्रीतर्फ लक्ष्मी दशौं भइन् । १२ खेलाडीले सहभागिता जनाएको यो विधामा दुईजनाले रेस पूरा गर्न सकेनन् ।

नेपालकी लक्ष्मी दुई ल्यापले आउट भएपनि समग्रमा दशौं स्थान लिन सफल भइन् । यो विधामा सहभागी खेलाडीले साढे ४ किलोमिटर लामो रेसिङ सर्किटमा ५ ल्याप पूरा गर्नुपर्ने थियो ।

साढे २२ किलोमिटरको दूरी १ घन्टा २० मिनेट १७ सेकेन्डमा सकाउँदै चीनकी बिन्वा याओले स्वर्णपदक जित्दा उनीभन्दा ४ मिनेट ३९ सेकेन्ड ढिला रेस सकाएकी चीनकै होङफेङ लीले दोस्रो हुँदै रजतपदक जितिन् ।

१ घन्टा २६ मिनेट ११ सेकेन्डको समय निकाल्दै थाइल्यान्डकी नाताली पान्यावानले कास्यपदक पाइन् ।

यसैगरी, माउन्टेन बाइककै क्रस कन्ट्री पुरुषतर्फ नेपालका बुद्धिबहादुर तामाङ पनि ल्याप आउट भएका छन् ।

उनलाई तेस्रो ल्यापको रेस चलिरहँदा शीर्ष स्थानका खेलाडी चीनका हाओ माले ल्याप आउट गरेका हुन् ।

माउन्टेन बाइकको डाउन हिलमा सोमबार नेपालका राजेश मगर सातौं भएका थिए ।