काठमाडौं, भदौ ५ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले तरलता समस्या समाधानको उपायसहितका कार्ययोजना ७ दिनभित्र पेस गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले लगातार दुई वर्षदेखि बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव भएको भन्दै तरलता समस्या समाधानको उपायसहित योजना ल्याउन राष्ट्र बैंकलाई निर्देशन दिएको हो ।
राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसँग मुलुकको अर्थतन्त्रबारे जानकारी लिएपछि समितिले यस्तो निर्देशन दिएको हो ।
समितिले बैंकको क्षेत्रगत कर्जा लगानी, पाँच वर्षसम्मको निक्षेप परिचालन, कर्जा लगानी र नाफाको विवरण, कर्जा र निक्षेपको अनुपात, बैंक तथा वित्तीय संस्था मर्जरको प्रभाव र दीर्घकालीन लगानीको योजना समितिमा पेस गर्न निर्देशन दिएको छ ।
बैठकमा गभर्नर नेपालले १००० र ५०० रुपैयाँका नोट बन्द गर्न नसकिने बताए ।
सम्पत्ति शुद्धीकरण गर्न सजिलो हुने भन्दै सांसद महेश बस्नेतले १००० र ५०० का नोट बन्द गर्नुपर्ने भनेपछि गभर्नर नेपालले १००० र ५०० का नोट बन्द गर्न नसकिने बताएका हुन् ।
उनले यस्तो संवेदनशील विषय हतारमा निर्णय गर्न नमिल्ने प्रस्ट पारे ।









प्रतिक्रिया दिनुहोस्