२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


सरकारले सुनेन संसदले आदेश दिओस् भन्दै कांग्रेसले दर्ता गरायो संसदमा कोभिड १९ बारे ध्यानाकर्षण प्रस्ताव


13
Shares

काठमाडौं, असार ३ । प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका सम्बन्धमा संसदमा ध्यानाकर्षण प्रस्ताव दर्ता गराएको छ ।

प्रतिनिधि सभामा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण, सचेतक पुष्प भुसाल र सांसद गगन थापाले ध्यानाकर्षण प्रस्ताव दर्ता गराएका हुन् । यसअघि मंगलबार मात्र कांग्रेसले प्रधानमन्त्रीलाई पनि ध्यानाकर्षण पत्र बुझाएको थियो ।

सरकार संवेदनशील नभएकाले संसदले चासो राख्नुपर्ने उल्लेख गर्दै ध्यानाकर्षण पत्र बुझाइएको हो । कांग्रेसले सातै प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइसकेको छ ।

कोरोना परीक्षणको दायरा बढाउन, क्वारेन्टिनको उपयुक्त व्यवस्थापन गर्न, अस्पताल तयार गर्न र विदेशबाट आउनेहरुको उचित व्यवस्थापन गर्न समयमै ध्यानाकर्षण गराउँदा पनि काम नभएको आरोप कांग्रेसले लगाएको छ ।

गर्नुपर्ने काम नगर्ने, तर भ्रष्टाचार तथा अनियमितताका एकपछि अर्को प्रकरण सार्वजनिक हुनुले सरकारको गैरजिम्मेवारीपनको उजागर गरेको भन्दै कांग्रेसले यसले जनस्वास्थ्यमाथि खेलबाड हुनुका साथै राज्यस्रोतको दुरुपयोग भएको जनाएको हो ।

अब संसदमा छलफल गरेर सरकारलाई निर्देशन दिनुपर्ने माग गर्दै कांग्रेस सांसदहरुले दश बुँदे ध्यानाकर्षण पत्र दर्ता गराएका हुन् ।